जघन्य अपराधदेखि ठगीसम्मका घटनामा संलग्न ५६ महिला कैलाली जेलमा
धनगढीः जघन्य अपराधदेखि ठगीसम्मका घटनामा संलग्न ५६ महिला कैलाली जेलमा छन्।
कर्तव्य ज्यानदेखि ठगीसम्मकै अपराधमा महिला संलग्न रहेको पाइएको छ। जेलभित्र रहेका महिलामध्ये लागुऔषध कारोबार, ओसारपसार, कर्तव्य ज्यान र बैकिङ कसुरमा दोषी ठहर भएकाको संख्या सबैभन्दा बढी रहेको जिल्ला कारागार कैलालीका जेलर दीपक पाण्डेले बताए। २ जना बालक समेत छन्।
‘हाल कारागारभित्र ५६ महिला र २ बालक छन्। सबैभन्दा बढी लागुऔषध त्यसपछि बैंकिङ कसुर र कर्तव्य ज्यानमा दोषी ठहर भएका महिलाको संख्या धेरै छ।’ जघन्य अपराध हत्यामा संलग्न महिला समेत अदालतबाट दोषी ठहर भएर जेलजिवन बिताइरहेका छन्। उसो त हाल कारागारभित्र ५ सय ५७ जना कैदीबन्दी छन्। पछिल्लो समय अपराधका घटना बढ्दै गएपछि जिल्ला कारागार कैलाली कैदीबन्दीले भरिन पुगेको छ।
विशेष गरी लागुऔष, जबरजस्ती करणी, हत्या, चोरी, कुटपिट, बैंकिङ कसुर लगायत अपराधमा दोषी ठहर भएकाहरु कैदीबन्दी जिवन विताइरहेका छन्। १५० जना क्षमताको जीर्ण कारागारभित्र अहिले ५ सय ५७ कैदीबन्दी छन्।
आर्थिक वर्ष २०८०/८१ सम्मको तथ्यांक अनुसार जिल्ला कारागारमा ५५७ जम्मा कैदीहरू रहेकोमा १७७ जना लागुऔषधसँग सम्बन्धीत मुद्दाका छन्।
कैलाली जिल्ला अदालतमा गत आर्थिक वर्षमा ५३९ मुद्दा लागुऔषधसँग सम्बन्धीका दर्ता भएका थिए। सो अवधिसवम्म जिल्ला अदालतले ४३१ मुद्दाको अन्तिम सुनुवाइ गरेको छ। १०८ मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी छ। कैलाली जिल्ला अदालतले कैद भुक्तानीका लागि पठाएका १४० कैदी हाल जिल्ला कारागारमा छन्। थप ३७ जना थुनुवा रहेका छन्। उनीहरूलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ।
कारागारमा रहेका १७७ जनामा ३७ जनाको अन्तिम सुनुवाइ भएको छैन। १४० जनाको मात्र अन्तिम सुनुवाइ भएको छ। १४० जना लागुऔषध मुद्दामा दाषी ठहर भएर कारागारमा कैद जीवन बिताइरहेका छन्। कारागारमा ४९६ पुरुष, ५६ महिला र २ जना बालक छन्। कारागार प्रशासनका अनुसार १५० जनालाई कोहलपुर जेलमा स्थानान्तरण गरिएको छ।
कैलाली कारागारमा कैदीको संख्या धेरै भएपछि उनीहरूलाई कोहलपुरको नयाँ जेलमा पठाइएको हो। कैलाली जिल्ला अदालतमा दर्ता भएका लागुऔषधका मुद्दामा हिरोइनका ५१०, गाँजा–चरेसका २४ र अन्य पाँच रहेका छन्। जिल्ला अदालतमा गत आर्थिक वर्षमा दर्ता भएका ५३९ मुद्दामा ४३१ मुद्दा फर्छाैट भएका छन्। १०८ मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी छ।