सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा छोरी जोगाउनै मुश्किल, देहत्याग भयावह

२०८१ असोज ९, ११:१३ खबर संवाददाता

धनगढीः केहीदिन अघि मात्र कञ्चनपुरमा एक किशोरी मृत अवस्थामा फेला परिन्। पुनर्वास नगरपालिका–६ टाउन बस्ने १८ वर्षीय निकिता थापा मृत फेला परेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनी आफ्नै घरकोठाभित्र देहत्याग गरेको अवस्थामा फेला परेकी थिइन्। थापा प्लस टुमा अध्ययनरत रहेकी थिइन्। यता कैलालीको धनगढीमा पनि अर्की एक किशोरी मृत फेला परिन्।कञ्चनपुरको बेलौरी नगरपालिका घर भएर धनगढी–१ मा भाडामा बस्दै आएकी १९ वर्षीया आस्था थापा मृत फेला परेकी थिइन्।

थापा आफू बस्ने कोठाभित्रै देहत्याग गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। उनी शैलेश्वरी स्कुल अफ हेल्थ साइन्समा एचए प्रथम वर्षमा अध्यनरत थिइन्। यी २ घटना सेलाउन नपाउँदै उता डडेल्धुरामा पनि टिकटकमा भाइरल भएकी एक युवती मृत भेटिइन्। गन्यापधुरा गाउँपालिका–३ की २१ वर्षीया विमला देउवा घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उनको टिकटकमा २ लाख २४ हजार फ्लोअर छन्।

अघिल्लो दिन मात्र जिल्लाको परशुराम नगरपालिका–५ परिगाउँमा एक किशोरीको शव फेला परेको थियो। महाकाली नदी किनारमा दार्चुलाको नौगाड गाउँपालिका–४ की १६ वर्षीया ममता टमटाको शव फेला परेको थियो। यी त केबल प्रतिनिधी उदाहरण मात्र हुन्। यसरी कलिलै उमेरमा देहत्याग गर्नेको संख्या वर्षेनि बढ्दै गएको पाइएको छ। सुदूरपश्चिममा छोरी जोगाउनै मुश्किल हुने गरेको धेरै अभिभावको गुनासो छ।

हुर्के बढेकी छोरी जोगाइराख्न पछिल्लो समय सहज नभएको धनगढी उपमहानगरपालिका–६ का विष्णुदत्त भाट बताउँछन्। सामाजिक सञ्जाल, फेसबुक, टीकटक, विलासी जीवनशैली विताउने चाहना लगायत कारण यस्तो परिस्थित सिर्जना हुने गरेको भाटजस्ता धेरै अभिभावको गुनासो छ। उसो त हुर्कदै गरेको छोरा मान्छेमा पनि यस्तो समस्या देखा नपरेको होइन। तर यी चाहनाहरु पुरा नहुँदा छोरा मान्छेको तुलनामा छोरी मान्छेले देहत्यागसम्मकै बाटो रोज्ने गरेका छन्।

सानैमा गरिने प्रेम सम्बन्ध र भनेजस्तो नहुँदा अर्थात प्रेममा सामान्य खटपट हुँदा पनि आफुले आफैलाई मार्ने गरेका घटना पछिल्लो पाँच वर्षयता एकपछि अर्को बढ्दै गएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ५ सय ५५ जनाले देहत्याग गरेको तथ्यांक छ। तीमध्ये ६० बालिका र ३९ बालक छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशमा पछिल्लो पाँच वर्षमा २ हजार ९१२ जनाले देहत्याग गरेका छन्।

आर्थिक वर्ष २०७६/७७ मा ५ सय ४४, २०७७/७८ मा ६ सय ८०, २०७८/७९ मा ५ सय ७६, २०७९/८० मा ५ सय ५७ र २०८०/८१ मा ५ सय ५५ जनाले देहत्याग तथ्यांक छ। कतिपय घटनामा शहरी क्षेत्रमा विवाहित महिला र पुरुषले समेत अवैध सम्बन्ध बनाउने र त्यसबाट निराशा बढ्दै गएपछि देहत्यागको बाटो रोज्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्ने गरेको छ।

कमेन्ट लोड गर्नुस