सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेशले धनगढी–सेहरी सडक निर्माणमा बजेट नदिएपछि स्थानीय आन्दोलित

२०८१ असोज ७, ०७:२९ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले बजेट नदिएको भन्दै सेहरीका स्थानीय आन्दोलित भएका छन्। प्रदेश सरकारले धनगढी–सेहरी सडक निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै उनीहरूले सङ्घर्ष समिति गठन गरेका हुन।

सङ्घर्ष समितिले गोदावरी नगरपालिका–९ का वडाध्यक्ष रामलाल रानालाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले वडाध्यक्ष रानाको गोदावरी नगरपालिका र प्रदेश सरकारसम्म पहुँच नभएकाले योजना नगरेको आरोप लगाएका छन्। गोदावरी नगरपालिकाले धनगढी–सेहरी–मुर्कटी सडकमा ग्राभेलसमेत नगरेको गुनासो स्थानीयको छ।

गोदावरी नगरपालिका–९ का स्थानीयले प्रयोग गर्ने सडकमा ग्राभेलसमेत नगरिएको उनीहरूले बताएका छन्। कृषि उत्पादनको बिक्री, रोजगार तथा काम गर्न, औषधी–उपचारका लागि धनगढी जानुपर्ने भएपनि सडकमा खाल्डै खाल्डा रहेकाले समस्या हुने गरेको स्थानीय पुत्तुलाल रानाले बताए। उनले काँग्रेसका नेता वीरबहादुर बलायर, सुदूरपश्चिमका मन्त्री र गोदावरी नगरपालिकाका नगर प्रमुखले सडक कालोपत्रका लागि बजेट विनियोजन गर्न आस्वासन निर्वाचनको समयमा दिएको बताए। उनले भने, ‘बाटो अप्ठ्यारो छ। बाटो हामीलाई चाहिन्छ। नेता आउनु भयो। मन्त्री आउनु भयो। मेयर आउनु भयो। बाटोका लागि बजेट दिन्छु भन्नु भयो। तर, अहिले बजेट छैन। यस्ता नेता हामीलाई चाहिदैन।’

गोदावरी नगरपालिका–९ का गर्भवती महिला र धनगढी कामको लागि जाने महिलाहरूलाई बढी सास्ती रहेको स्थानीय पार्वती खत्रीले बताइन। उनले भनिन्, ‘नेताहरूले बाटो बनाउछौ भन्नु भयो। हामी पनि नेताको भरमा परेका हौ। मुर्कटीदेखि बेलासम्मको सडकमा अहिले पनि बजेट आएन। हाम्रा महिलाहरूलाई कति समस्या छ। खाल्डा छन्। हाम्रो नदीबाट राजस्व कमाउने। राम्रो सडक बिग्रेने ? तर, हाम्रो बाटोमा बजेट नदिने ? हामी नदीहरु बन्द गर्छाै।’ गोदावरी नगरपालिका–९ का स्थानीयले खुटिया खोलाबाट नदीजन्य पदार्थ सङ्कलन र ढुवानी गर्न नदिने बताएका हुन्।

निर्वाचनको समयमा मात्र नेताहरू गाउँमा भोट माग्न आउने उनीहरूको गुनासो छ। गोदावरी नगरपालिका सुदूरपश्चिम सरकारले खुटिया खोलाबाट लाखौँ रकम नदीजन्य पदार्थ बिक्रीबाट आम्दानी गर्ने गरेको भएपनि वडाका नागरिकलाई उपेक्षा गरिएको गुनासो उनीहरूको छ। स्थानीय भरत साउँदले निर्वाचनको समयमा मात्र गाउँमा नेता देखिने गरेको बताए। उनले भने, ‘निर्वाचनमा मात्र आश्वासन दिने। पछि नेताहरू गायब हुने। हाम्रो नदीको स्रोत प्रयोग गर्ने। तर, बजेट नदिने ? हामीले सङ्घर्ष समिति बनाएका छौ। आन्दोलन गर्छाै।’

गोदावरी नगरपालिका–९ का स्थानीयहरू नगरपालिका र प्रदेश सरकारको विरुद्धमा एक भएका हुन्। उनीहरूले वडाका सडक कालोपत्रका लागि बजेट माग गर्दै आएका छन्। मझगाउँदेखि सेहरी जोड्ने कालोपत्र सडक भत्किएको, सेहरीको खुटिया खोलाको पुल नदीले बगाएको, मुर्कटी–सेहरी–धनगढी सडकमा खाल्डै खाल्डा रहेको गुनासो उनीहरुको छ।

स्थानीय शेर भटराईले गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टलाई २ ट्रली ग्राभेलसमेत नदिएको बताए। उनले भने, ‘सडकमा खाल्डा छन्। मेयरलाई २ ट्रली ग्राभेल मागेको थिए। तर, उहाँले सक्दैन भन्नु भयो। अबको चुनावमा लखेट्ने हो।’ नदीजन्य पदार्थको राजश्वको लगानी वडामा नभएको गुनासो उनीहरूको छ। स्थानीय हेमबहादुर चन्दले खोलामा गाडी जान नदिने बताएका छन्। चन्दले वडा कार्यालय, नगर प्रमुख, सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाउने बताए।

रातिको समयमा बिराम भएकाहरूलाई धनगढी लैजान समस्या रहेको स्थानीय निर्मला खडायतले बताइन। उनले भनिन्, ‘हाम्रो वडामा एम्बुलेन्स पनि छैन। अटोमा लैजानु पर्छ। तर, बाटो राम्रो छैन।’ सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ। तर, ५० लाखमा सडकको काम नहुने वडाध्यक्ष रामलाल रानाले बताए। उनले भने, ‘नगरपालिकाको कार्यपालिकामा विरोध गरेकै हो। मन्त्रीकोमा पनि गएको हो। मुख्यमन्त्रीदेखि राज्यमन्त्रीकोमा गए। उहाँहरूले बाटोमा पैसा आउछ भन्नु भएको थियो। तर, बजेट आएन।’

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस