सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी सभागृह निर्माणको २ वर्षदेखि अलपत्र, सरकारका कार्यक्रम होटेलमा

२०८१ असोज ३, ०२:५५ कमल सावद

धनगढीः कैलालीको धनगढीमा सङ्घीय सरकारले निर्माण गरेको सभा गृह अलपत्र परेको छ। धनगढी उपमहानगरपालिका–८ मा २८ करोड ५५ लाखको लागतमा निर्माण गरिएको सभा गृह (धनगढी सिटी हल) अलपत्र परेको हो।

सङ्घीय सरकारले सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाईमार्फत सभा गृह निर्माण गरेको थियो। सङ्घीय सहरी विकास मन्त्रालय मातहतको सङ्घीय आयोजना कार्यान्वयन इकाइले धनगढी सभागृह निर्माण गरेको छ। सहरी विकासले सभागृह धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने हो। तर, उपमहानगरपालिकाले अधुरै अवस्थामा स्वामित्व लिन नमानेपछि सभागृह अलपत्र परेको छ। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सभागृहको काम पूरा नभएकाले हस्तान्तरणको काम रोकिएको बताए। सङ्घीय सहरी विकास मन्त्रालयले सभागृहमा आवश्यक उपकरणहरू जडान गर्नुपर्ने उनले बताएका छन्।

धनगढीमा २०७९ सालमा निर्माणको काम पूरा भएको सभागृहमा आवश्यक पूर्वाधारको अभावले सञ्चालनमा आएको छैन। उपप्रधान तथा सहरी विकास मन्त्री सिंहले धनगढी उपमहानगरपालिकासहित सरकारी कार्यक्रमहरू सभागृहमा सञ्चालन गर्नुपर्ने बताए। सभागृह सञ्चालनका लागि आवश्यक पूर्वाधारहरूका लागि बजेट विनियोजन गर्ने उनले बताए।

धनगढी सभागृह सञ्चालन कार्यविधि तथा मापदण्ड नहुँदा र हल सञ्चालनका लागि चाहिने फर्निचर, साउन्ड सिस्टम, एसी जडानलगायतका कार्य अधुरो रहेको भन्दै उपमहानगरपालिकाले स्वामित्व लिन इन्कार गरेको छ। सभाहलमा फर्निचरको मात्रै ३० लाखभन्दा बढी रकम खर्च हुने अनुमान छ। साथै साउन्ड सिस्टमलगायत अन्य उपकरण जडानमा साढे २ करोड लाग्ने अनुमान गरिएको छ। त्यति रकम नगरपालिकाले लगाउन नसक्ने भन्दै सङ्घीय सरकारले नै सम्पन्न गर्नुपर्ने जोड धनगढी उपमहानगरपालिकाको छ।

डेढ बिघा जमिनमा २८ करोड ५५ लाख रुपैयाँ खर्चेर बनेको सभागृहको निर्माण, रङ्गरोगन र विद्युत् जडान लगायतका सम्पूर्ण मुख्य कार्य २०७९ असारमा सम्पन्न भएको थियो। निर्माण कम्पनीले सङ्घीय आयोजना कार्यान्वयन इकाइलाई हस्तान्तरणसमेत गरिसकेको छ। तर, सञ्चालनका लागि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्न बाँकी रहेको छ।

राष्ट्रिय सभागृहको मोडेलमा बनाइएको सभागृहमा ९ सय जना क्षमताको एउटा मुख्य अडिटोरियम, २५० जना क्षमताको अर्को सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, अति विशिष्ट कक्ष र २ वटा रिहर्सल कक्ष छ। करिब ४ सय गाडी अटाउने अन्डरग्राउन्ड बेसमेन्ट पार्किङ पनि तयार गरिएको छ। फर्निचर र साउन्ड सिस्टम नभएको बहानामा दुई वर्षदेखि सो सभागृह अलपत्र परेको छ। सो सभागृह सञ्चालन हुन नसकेका कारण सरकारी कार्यक्रमसहित विवाहका कार्यक्रमहरू होटेल र पार्टी प्यालेसमा हुने गरेका छन्। धनगढी उपमहानगरपालिकाले समेत १० औ स्थापना दिवस पार्टी प्यालेसमा गरेको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस