सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा जग्गा प्लटिङ्ग गर्नेहरुबाटै २ करोड १७ लाखको ग्राभेल र विद्युत लाइन विस्तार

२०८१ असोज २, ०६:४८ कमल सावद

धनगढीः कैलालीको धनगढीमा जग्गा कारोबारीले दुई वर्षमा २ करोड १७ लाख बढीको ग्राभेल सडक, कच्ची नाली निर्माण र विद्युत लाइन विस्तार गरेका छन।

धनगढी उपमहानगरपालिकाले जग्गा कारोबारीहरुले कच्ची नालीसहितको ग्राभेल सडक र ५०/५० मिटरको दुरीमा पोल गाड्दै विद्युत लाइन विस्तार गर्नुपर्ने नियम बनाएपछि २ करोड १७ लाख ७१ हजारको काम भएको हो। धनगढीमा जग्गाको प्लटिङ्ग गर्दै आएका कारोबारीहरुले यसअघि नक्सामा सडक देखाएर उपमहानगरपालिकामार्फत ग्राभेल हाल्न लगाउने गरेका थिए।

तर, २०७९ सालमा नयाँ नियम लागु गर्दै जग्गा कारोबारीहरुले नै कच्ची नालीसहितको ग्राभेल सडक र विद्युत लाइन विस्तार अनिवार्य गरिएपछि उपमहानगरमाथि पर्ने आर्थिक भार समेत कम भएको छ। धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले जग्गा कारोबारीहरुले जग्गा प्लटिङ्ग गर्ने र उपमहानगरपालिकाले सडकमा ग्राभेल गर्ने गरेको बताए। यो नियम आर्थिक वर्ष २०७९/८० देखि लागु भएको छ।

भट्टले भने, ‘पहिलो जग्गा कारोबारीहरुले मापदण्ड अनुसारको बाटो खोल्ने गरेका थिए। तर, न्यूनतम पूर्वाधार पनि हुँदैन थियो। कागजमा मात्र प्लटिङ्ग गर्ने र सबै व्ययभार उपमहानगरपालिकामाथि पर्दै आएको थियो। पछि हामीले कार्यविधि बनायौ। हाल नालीसहितको १५ सेन्टिमिटरको ग्राभेल र विद्युतको लाइन अनिवार्य गरेका छौ।’ उपमहानगरपालिकाले नीतिगत सुधार गर्दै २ करोड १७ लाख ७१ हजार सात सय ८४ रुपैयाँको आर्थिक भार कम गरेको छ।

उपमहानगरपालिकाले जग्गा प्लटिङ्गको मापदण्ड तयार पार्दै जग्गा कारोबारीले कच्ची नालीसहितको ग्राभेल सडक र विद्युत लाइन विस्तार अनिवार्य गरेको छ। जग्गा कारोबारीले सुरुमा विरोध गरेपनि कार्यविधि नै लागु भएपछि उपमहानगरपालिकाको २ करोड १७ लाख व्ययभार कम भएको छ।

डिभिजनल इन्जिनियर भट्टले ग्राभेल सडक, विद्युत लाइन विस्तार र ह्यूम्पाइप लगायतका न्यूनतम पूर्वाधार तयार भएपछि मात्र जग्गा कित्ताकाटको सिफारीस दिने गरेको बताए। उनले भने, ‘२०७९/८० मा ६१ लाखको लगानी भएको छ। २०८०/८१ मा एक करोड ६० लाख निजी क्षेत्रबाट भएको छ।’ उपमहानगरपालिकाको कार्यापालिका बैठकबाट आर्थिक वर्ष २०७९/८० मा जग्गा प्लटिङ्गको नयाँ मापदण्ड लागु भएको थियो।

यसअघि भने जग्गा कारोबारीहरुले प्लटिङ्ग गर्ने र भौतिक संरचना उपमहानगरापलिकाले निर्माण गर्दै आएको थियो। तर, दुई वर्षयता भने जग्गा कारोबारीले नै कच्ची नालीसहतिको १५ सेन्टिमिटरको ग्राभेल सडक, ५०/५० मिटरको दुरीमा विद्युतका पोल गाड्दै विद्युत लाइन विस्तार गर्दै आएका छन्।

उपमहानगरपालिकाका प्राविधिकले स्थलगत अनुगमन गर्दा कच्ची नालीसहितको १५ सेन्टिमिटर मोटाइको ग्राभेल सडक, ५०/५० मिटरको दुरीमा विद्युतका पोल गाड्दै लाइन विस्तार र पानी निकासका लागि ह्यूमपाइपहरु राख्ने गरिएको छ। डिभिजनल इन्जिनियर भट्टले जग्गाको कारोबार कम भएकाले भौतिक पूर्वाधारमा कारोबारीको लगानी कम भएको बताए। उनले पक्की नालीसहितको कालोपत्र सडक जग्गा कारोबारीहरुले निर्माण गर्ने गरेर नयाँ नियम लागु गर्ने तयारीमा रहेको समेत बताए।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस