सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पालिका उपाध्यक्षसहित ५ पद रिक्त, मंसिरमा उपनिर्वाचन

२०८१ असोज २, ०२:०९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा एक उपाध्यक्षसहित पाँच वडाअध्यक्षको पद रिक्त छ।

उपाध्यक्षसहित पाँच वडाअध्यक्षको मृत्यु भएपछि पद रिक्त हुन पुगेको हो। २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित उपाध्यक्षसहित पाँच वडाअध्यक्षको मृत्यु भएपछि ती पद अहिलेसम्म खाली छन्। दार्चुलाको दुहुँ गाउँपालिका–५, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पद खाली छ। 

बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको मृत्यु भएपछि पद रिक्त छ। जोशी २०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। दार्चुलाको दुहँु गाउँपालिका–५ का वडाध्यक्ष मनोरथ भट्टको गत असारमा मृत्यु भएपछि सो पद रिक्त छ। त्यस्तै गत जेठमा बझाङको सुर्मा गाउँपालिका–४ का वडाअध्यक्ष सर्जन बोहराको मृत्यु भएको थियो।

३८ वर्षको उमेरमा उनको मृत्यु भएको हो। उनलाई मधुमेह र कलेजोलगायतसम्बन्धी समस्या थियो। बोहरा २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए। पालिकाभर एमालेबाट निर्वाचित हुने उनी एकमात्र वडाध्यक्ष हुन्। तर उक्त पद हाल रिक्त छ। डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको पनि हृदयघातका कारण निधन भएपछि सो पद रिक्त छ।

६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढलेका थिए। उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको थियो। जोशी गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्काको पनि मृत्यु भएपछि सो पद रिक्त छ। वडाध्यक्ष खड्का भीमदत्त नगर कार्यपालिकाका प्रवक्ता समेत थिए।
मंसिरमा उपनिर्वाचन
रिक्त पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकेको हो। मन्त्रिपरिषद् बैठकअघि आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर रिक्त पदमा निर्वाचन सम्पन्न गर्ने गरी मिति तोक्न परामर्श दिएका थिए। चाडपर्वपछि मंसिरको मध्यमा उपनिर्वाचन उपयुक्त हुन्छ भनेर सरकारलाई परामर्श दिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

स्थानीय तह निर्वाचन ऐनले जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, कुनै पनि पालिकाका प्रमुख र उपप्रमुख तथा वडाध्यक्षलगायतको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि रिक्त पदको पूर्ति उपनिर्वाचनद्वारा हुने व्यवस्था गरेको छ। साथै उपनिर्वाचन हुने मिति निर्वाचन आयोगको परामर्शमा सरकारले तोक्ने व्यवस्था छ।

कमेन्ट लोड गर्नुस