सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा व्यक्ति विशेषका योजनामा समेत बजेट विनियोजन

२०८१ असोज २, ०९:१६ नारायण अवस्थी

धनगढीः २५ लाख भन्दा कम बजेटको योजना नल्याउने घोषणा गरेको सुदूरपश्चिम प्रदेश सरकारले ५ लाख र १० लाखका योजना ल्याएको छ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत साढे ११ सय योजनामा बजेट विनियोजन गरिएको छ। जसमध्ये साढे ८ सय योजनामा २० लाख भन्दा कम बजेट राखिएको छ। कृषि मन्त्रालय अन्तर्गत कार्यान्वयन हुने अधिकांश योजनामा २० लाख भन्दा कम बजेट राखेको पाइएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले भदौ ३ गते पत्रकार सम्मेलन गरेर सरकारले यो पटक २५ लाख भन्दा कम बजेट भएका योजना नल्याउने घोषणा गरेका थिए। बजेट निर्माणको चार बुँदे अवधारणा सार्वजनिक गरेका मुख्यमन्त्रीले बजेट ल्याउँदा कृषि मन्त्रालय अन्तर्गतका कार्यक्रमको हकमा भने टुक्रे योजना समेत बजेट विनियोजन गरिएको पाइएको छ।

बजेटमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कूल एक हजार १४८ योजनामा बजेट विनियोजन गरिएको छ। जसमध्ये ४५२ योजनामा पाँच लाखका दरले बजेट विनियोजन गरिएको छ। यस्तै ४१४ योजनामा १० लाखदेखि २० लाख बजेट विनियोजन गरिएको छ। यी ४१४ योजनामा १५ लाख र २० लाख बजेट भएको योजनाको संख्या न्यून छ भने अधिकांश योजनामा १० लाख र १२ लाख बजेट राखिएको छ।

प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सोमबार प्रदेश सभामा पेस गरेको चालु आर्थिक वर्षको बजेटमा व्यक्तिगत कम्पनी, फर्म र सहकारीमा बजेट नदिने घोषणा गरेको थियो। चालू आर्थिक वर्षमा कृषक समूह, मासु पसल, डेरी पसल, मिट मार्ट, कुखुरा फार्म, भैंसी फार्म, बङ्गुर फार्म, कालिज फार्म र सहकारीहरूलाई अनुदान रकम वितरण गर्ने कार्यक्रम राखिएको छ। यी कार्यक्रमका लागि पाँच लाख र बढीमा ८ लाख बजेट विनियोजन गरिएको छ। कृषि मन्त्रालय अन्तर्गतका योजनामा व्यक्ति विषेशलाई सोझै लाभ हुने कार्यक्रम निर्माण गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस