सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहरी विकास मन्त्री सिंहले धनगढीमा गरे उद्यानको शिलान्यास

२०८१ असोज १, ०६:१६ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकासँगै जोडिएको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण गर्न शिलान्यास गरिएको छ। उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशामान सिंहले उद्यानको शिलान्यास गरेका हुन्। धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवसमा प्रमुख अतिथिका रुपमा धनगढी आएका मन्त्री सिँहले उद्यानको समेन शिलान्यास गरेका छन्।

सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीले ८ करोड ६२ लाख ५० हजार सात सय नौ रुपैयाँमा उद्यान निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो। नेशनल/पवन जेभीसँग २०८१ असार १७ गते वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणका लागि सम्झौता गरिएको हो। धनगढी पार्कका नाउले परिचित वीरेन्द्र–ऐश्वर्य उद्यानलाई आधुनिक तरिकाले निर्माण गर्न सम्झौता गरिएको छ।

वीरेन्द्र–ऐश्वर्य उद्यानसँगै धनगढीमा एक हजार दुई सय ५० मिटर सडक समेत निर्माण हुँदैछ। निर्माण कम्पनीले २०८३ बैशाख १६ गतेसम्म वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणको काम पूरा गर्ने छ।

धनगढीको मुख्य बजारमा रहेको उद्यान निर्माण गर्न धनगढी उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारेको थियो। उपमहानगरपालिकाले रात्रिकालीन बजारसहितको उद्यान निर्माणका लागि डिपीआर तयार पारेको हो। तर, हाल पार्क क्षेत्रमा बालबालिकाका लागि क्षेत्र र खेलौना, वाटर फाउन्टेन, रेस्टुरेन्ट, कार्यक्रम सञ्चालन गर्न हल, स्वीमीङ्ग पुल, जेष्ठ नागरिकले आराम गर्ने स्थान, युवाहरूका लागि सांस्कृतिक क्षेत्र, किशोर–किशोरीका प्रतिभाका लागि कार्यक्रम स्थल र उद्यानको बाहिरी क्षेत्रमा सटरहरू हुने छन्। सटरहरूमा स्थानीय संस्कृतिका पोसाक तथा सामानहरू बिक्री गर्न सकिने छ। धनगढी उपमहानगरपालिकाको ३५ करोडको योजना भएपछि पहिलो चरणमा सहरी विकासले ८ करोड ६२ लाखका संरचनाहरू निर्माण गर्ने भएको हो। धनगढी उपमहानगरपालिका– १ मा रहेको उद्यान (पार्क)लाई स्तरीय तथा आधुनिक निर्माण गर्ने कामको शिलान्यास भएसँग काम सुरु भएको छ।

उद्यानमा पाँच सय युवाले सुरुवात व्यवसाय (स्र्टाट अफ बिजिनेस) गरेर आय आर्जन गर्न सक्ने बनाउने धनगढी उपमहानगरपालिकाको योजना छ।

वीरेन्द्र–ऐश्वर्य उद्यानको बाहिरी क्षेत्रमासमेत ठुला कार्यक्रम सञ्चालनका लागि स्थल तयार गरिने छ। पार्कको दक्षिण क्षेत्रमा सुन्दर स्टेज निर्माण गरिने छ। साँझको समयमा कार्यक्रम सञ्चालन गर्न मिलने वातावरण उपमहानगरपालिकाले तयार गर्न लागेको हो। उद्यानमा सुदूरपश्चिमका सामाजिक तथा धार्मिक धरोहर, पर्यटकीय स्थल, खानाका परिकार, भेषभूषा, संस्कृति चिनाउने भिडियो र तस्बिरहरू प्रत्येक साँझ प्रस्तुति गरिने योजना तयार पारिएको छ।

भिडिओ र तस्बिरहरूको सुदूरपश्चिमका सम्पूर्ण धार्मिक, सामाजिक धरोहर, पर्यटकीय स्थल, खानाका परिकार, भेषभूषा, संस्कृतिहरू चिनाउन महत्त्वपूर्ण भूमिका रहने दाबी उपमहानगरपालिकाको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस