सुदूर नेपाललाई विश्वसँग जोड्दै

अख्तियारको कार्यालय कञ्चनपुरमा परे अनियमितता विरुद्धका १९४ मुद्दा

२०८१ असोज १, १०:३२ खबर संवाददाता

धनगढीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा अनियमितता सम्वन्धि उजुरीको संख्या बढ्दै गएको छ।

चालु आर्थिक वर्ष सुरु भएसँगै यस्ता उजुरीको संख्या बढ्न थालेको हो। संघ, प्रदेश र स्थानीय तहसँग सम्वन्धित उजुरीको संख्या दैनिक रुपमा दर्ता हुने गरेको कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षको साउन महिनामा आर्थिक अनियमितता विरुद्ध एक सय १४ उजुरी दर्ता भएका छन्।

अख्तियार दूरपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा स्थानीय तहसँग सम्वन्धित उजुरीको संख्या सबैभन्दा बढी दर्ता हुने गरेको पाइएको छ। कार्यालयमा भदौ ३१ गतेसम्म थप ८० वटा उजुरी दर्ता भएका छन्। विभिन्न माध्यमको प्रयोग गरेर अख्तियारमा उजुरी दर्ता हुनेक्रम बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टले बताएका छन्।

संघ, प्रदेश र स्थानीय तहसँग सम्वन्धित उजुरी ९ वटै जिल्लामा आउने गरेको उनले बताएका हुन्। विभिन्न विकास निर्माणका काममा हुने अनियमितता, विद्यालय, वन खानेपानी लगायत काममा अनियमितता हुने गरेको भन्दै उजुरीकर्ताले अख्तियारमा निवेदन दिने गरेका छन्। प्राप्त उजुरीमाथि थप अध्ययन र कामकारबाही सँगसँगै अघि बढाउने काम भइरहेको कार्यालयले जनाएको छ। सार्वजनिक पद धारणा गरेर पदको दुरुपयोग गर्दै अनियमितता हुने गरेको विषयमा पनि अख्तियारमा उजुरी पर्ने गरेको छ।

कमेन्ट लोड गर्नुस