सुदूर नेपाललाई विश्वसँग जोड्दै

२७ करोड बजेट चाहिने मुख्य सडक धनगढीका लागि १० करोड मात्र विनियोजन

२०८१ भदौ ३१, ०७:२० नारायण अवस्थी

धनगढीः सोमवार प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री बहादुरसिंह थापाले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन्।

आर्थिक वर्ष सुरू भएको दुई महिनापछि आएको प्रदेश सरकारको बजेटमा अनुदानका कार्यक्रम र टुक्रे योजनाको संख्या अधिक रहेको प्रतिपक्षी दलका प्रदेश सभा सदस्यले बताएका छन्। सरकारले धनगढीमा नमुनाका रुपमा निर्माण गर्न लागेको कैलाली पुल क्याम्पस चोक मुख्य सडकका लागि भने न्यून बजेट विनियोजन गरेको छ।

पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट र तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले धनगढीको मुख्य सडक निर्माण गर्न ७७ करोड बजेट सुनिश्चित गरेका थिए। धनगढी उपमहानगरपालिकाको अनुरोधमा त्रिलोचन भट्ट नेतृत्वको तत्कालिन सरकारले धनगढीको मुख्य सडक नमुनाको रुपमा निर्माण गर्ने निर्णय गरेको थियो।

करिब ५३ करोडमा ठेक्का सम्झौता भएको सडकमा आर्थिक वर्ष २०८०/८१ मा करिब २४ करोडको काम भएको थियो। प्रदेश सरकारले निर्माण कम्पनीलाई हालसम्म करिब २४ करोड भुक्तानी गरेको छ भने साउनयता भएको कामको रकम भने कम्पनीलाई भुक्तानी गर्न बाँकी छ।

भौतिक पूर्वाधार विकास मन्त्रालय स्रोतले सडकको सम्पूर्ण काम सक्न २७ करोड बजेट चालू आर्थिक वर्षमा आवश्यक पर्ने बताएको छ। तर सोमवार प्रस्तुत बजेटमा भने मुख्य सडक निर्माणका लागि केबल १० करोड बजेट मात्रै विनियोजन गरिएको छ। यो रकम अहिलेसम्म भएको कामकै भुक्तानी गर्न ठिक्क हुने एक जना पूर्व मन्त्रीले बताए।

उनले आगामी असारमसान्तभित्र सम्पन्न गर्नुपर्ने सडकका लागि सरकारले न्यून बजेट विनियोजन गर्दा सडकको काम प्रभावित हुने आशंका गरेका छन्। दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले मुख्य सडक निर्माण गर्न १९ करोड विनियोजन गरेको ती मन्त्रीले बताए। उनले अहिलेको सरकारले धनगढीबासीलाई थप एक वर्ष धुलो र हिलो खुवाने मनसायले सडकमा केबल १० करोड बजेट राखेको हुनसक्ने बताए। निर्माण कम्पनीले धमाधम काम गरिरहेका बेला नयाँ बजेटमा न्यून बजेट विनियोजन गरिएपछि काम प्रभावित हुने सम्भावना बढेको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस