सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्मचारी सञ्चय कोष धनगढीले मनायो ६३औं वार्षिकोत्सव

तस्बिर: अविनाश चौधरी
तस्बिर: अविनाश चौधरी
२०८१ भदौ ३१, ०५:५४ खबर संवाददाता

धनगढीः कर्मचारी सञ्चय कोषले आफ्नो ६३औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ।

सञ्चय कोषको धनगढी शाखाले खेलकुदसहित एक समारोहको आयोजना गरेर वार्षिकोत्सव मनाएको हो। वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेशका मुख्य सचिव डा. हरिप्रसाद लम्सालले सञ्चयकोषलाई प्रविधिमैत्री बनाउन आग्रहसहित यसको पहुँच विस्तार गर्न सुझाव दिए। कोषको सेवामा विविधीकरण हुनुपर्ने भन्दै उनले थपे, “सञ्चयकोष हाम्रै हो, हाम्रो लागि काम गर्छ, हाम्रै हितमा काम गर्छ भनेर बुझाउन जरुरी छ।”

यसैगरी, कार्यक्रममा सचिव वेदप्रसाद भण्डारीले कर्मचारी सञ्चय कोषले दिँदै आएको सुविधामा सहुलियत प्रदान गर्न आग्रह गरे। त्यस्तै, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रप्रसाद मिश्रले कर्मचारी सञ्चयकोष सञ्चयकर्ताको आशा, भरोसाको रुपमा रहेको बताए। 

कर्मचारीको अवकाशपछि सञ्चय कोषले एकमुष्ट रुपमा सञ्चय कोष भुक्तानी दिने गरेको कर्मचारी सञ्चय कोष धनगढी शाखाका प्रमुख राजेन्द्र लामिछानेले बताए। उनले निवृत्तिभरण भने आजीवन प्रदान गर्दै आएको उल्लेख गरे। 

नेपालमा पाँच लाख ५० हजार बचतकर्ताको छ खर्ब (नेपालको कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत) रकम कर्मचारी सञ्चय कोषले परिचालन गरिरहेको जनाइएको छ। यस कार्यालयबाट गत आर्थिक वर्षमा ५३ हजार ८६५ जना बचतकर्ताले सापटी सेवा लिएको प्रमुख लम्सालले जानकारी दिए। दिवसको अवसरमा विभिन्न खेलमा प्रथम भएका कर्मचारीहरुलाई पुरस्कार प्रदान गरिएको थियो।

कर्मचारीका अवकाशपछिको जीवनलाई सहज बनाउने उद्देश्यका साथ नेपालमा २०१९ सालमा कर्मचारी सञ्चयकोषको स्थापना भएको थियो। धनगढीमा शाखा कार्यालय भने २०६१ सालमा स्थापना भएको हो। यो शाखाले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका कर्मचारीलाई सेवा प्रदान गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस