सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा १६४ महिला जबरजस्ती करणीको सिकार

२०८१ भदौ ३१, ०१:१९ खबर संवाददाता

धनगढीः एक महिना अघि कैलालीको गोदावरी नगरपालिकाकी एक किशोरी सामुहिक करणीको सिकार बनिन्।

एक जना प्रेमीको चक्करमा परेर उनी रातिको समयमा सामुहिक करणीमा परेको खुलेको छ। सामुहिक करणीमा संलग्न तीन जना पक्राउ परिसकेका छन्। यस प्रकारको घटना कैलालीमा पछिल्लो समय एकपछि अर्को बढ्न थालेको छ। जिल्लामा १२ महिनाको अवधिमा एक सय ६४ महिला जबरजस्ती करणीको सिकार बनेका छन्।

जबरजस्ती करणीमा परेको भन्दै पछिल्लो समय पीडक विरुद्ध जिल्ला अदालत कैलालीमा यस प्रकारका मुद्दा दर्ता गराउने पीडितको संख्या बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा एक सय ६४ महिलाले जबरजस्ती करणीमा परेको भन्दै जिल्ला अदालत कैलालीमा मुद्दा नै दायर गरेको पाइएको छ। यसका साथै अदालतमा ३८ मुद्दा जबरजस्ती करणी उद्योगमा दर्ता भएका छन्। यस प्रकारको मुद्दा दर्ता गराउनेमा विवाहितदेखि किशोरीसम्मै रहेको पाइएको छ।

जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा वर्षेनि प्रहरी कार्यालय हुँदै अदालतमा मुद्दा दर्ता हुनेक्रम बढ्दो छ। गत आर्थिक वर्ष जिल्ला अदालतमा दर्ता भएका १६४ जबरजस्ती करणीका मुद्दामध्ये ११८ मुद्दाको अन्तिम सुनुवाई भइसकेको छ। बाँकी ४६ मुद्दाको सुनुवाइ हुने बाँकी नै रहेको जिल्ला अदालत कैलालीले बताएको छ।

गत आर्थिक वर्ष हाडनाता करणीका सात, जबरजस्ती करणी उद्योगका ३८, बाल यौन दुरुपयोगका १९ मुद्दा दर्ता भएका थिए। जिल्ला अदालत कैलालीका न्यायाधीश दण्डपाणि लामिछानेले बल प्रयोग गरेर इच्छा विपरीत गरेको कार्यलाई जबरजस्ती करणीको रुपमा लिने गरिएको बताए। महिलाहरुप्रति समाज असहिस्ष्णु भएका कारण यस्ता घटनाहरु बढ्दै गएको प्रहरी अधिकृतहरु बताउँछन्।

समाजले पीडकहरुलाई सहजै पचाउने भएका कारण पनि अपराधका घटनाहरु बढ्दै गएको पाइएको छ। समाजमा अहिले पनि जबरजस्ती करणीका घटनाहरु मिलापत्र गर्ने गरेकाले पनि अपराधीहरुको मनोबल बढेको देखिएको छ। पीडितका परिवारले पनि आफ्नो इज्जतसँग जोड्ने र कानुनको दायरामा आउनुभन्दा मिलापत्रै गरेर टुंंग्याउने गरेका कारण पनि यस्तो समस्या बढ्न गएको कतिपयको तर्क छ।

कमेन्ट लोड गर्नुस