सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषधको कुलतमा फस्न थाले युवा, एकैदिन ५ जना पक्राउ

२०८१ भदौ ३०, ०९:५१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी र बर्दगोरियाबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्।

शनिबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढीबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का ३२ वर्षीय तेज भट्टराई, २७ वर्षीय अमन बोहरा र ३० वर्षीय प्रमोद खड्कालाई १ ग्राम ३० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ त्रिनगर चेक पोष्टबाट धनगढी–८ क्याम्पस चोकका २१ वर्षीय सुवास थापा २८० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन्।

उता इलाका प्रहरी कार्यालय सुखड र बौनियाँबाट संयुक्त खटिएको प्रहरी टोलीले बर्दगोरिया गाउँपालिका–१ मुडा बजारबाट सोही स्थानका २७ राजन वादी पनि लागुऔषधसहित पक्राउ परेका छन्। उनी ७० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्। पछिल्लो समय प्रहरीमा लागूऔषधका मुद्दा दर्ता हुने क्रम ह्वात्तै बढेको छ। लागूऔषध बिक्रेता र प्रयोगकर्ता बढेपछि नियन्त्रण गर्न चुनौती समेत थपिएको छ।

खुला सीमानाका कारण सहजै कारोबार हुन थालेपछि नियन्त्रणमा प्रहरीका प्रयास असफल हुन थालेका छन्। प्रयोगकर्ता पक्राउ पर्ने तर कारोबारीले सहजै उन्मुक्ति पाउने समस्याका कारण पनि लागूऔषधको जालो भत्काउन मुस्किल हुन थालेको छ। लागूऔषध प्रयोग गर्नेमा विशेषगरी ब्राउन सुगर, ट्याब्लेट, सुई लगायत प्रयोगकर्ता रहेको प्रहरीले बताएको छ। लागूऔषधले विकराल रुप लिएको छ।
खुला सीमाना चुनौती
भारतसँगको खुला सीमानाको फाइदा उठाउँदै सीमापारिको बजार वनगाउँ, पलियालगायतबाट नेपालमा लागुऔषध ओसारपसार गर्नेहरूको समूह बढ्दै गएको प्रहरीको भनाइ छ। धनगढी, अत्तरियालगायत मुख्य बजारमा ठेलामा सामान बिक्री गर्ने व्यापारी तथा भारतीय नागरिकसमेत लागुऔषधको कारोबारमा संलग्न रहेको पाइएको प्रहरी अधिकृतहरू बताउँछन्।

धनगढीलगायत कैलालीका धेरै युवा लागुऔषधको कुलतमा फसेका छन्। तत्काल प्रभावकारी कदम नचाल्ने हो भने समाजमा यसको नराम्रो असर पर्ने सरोकारवाला बताउँछन्। युवापुस्तालाई लागुऔषध सेवन तथा कारोबारमा नलाग्न सुधारका काम गरिए पनि थुनाबाट निस्केपछि पुनः यसमै लाग्ने गरेको भेटिने गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। प्रहरीका अनुसार लागुऔषध सेवनकर्तामध्ये ३० प्रतिशत २० वर्ष मुनिका छन्।

२० देखि ३५ वर्ष उमेर समूहका ४० प्रतिशत छन्। ३५ देखि ४५ वर्ष उमेर समूहका २० प्रतिशत यसमा संलग्न रहेको पाइएको छ। लागुऔषध प्रयोगकर्तामा विद्यार्थी बढी छन्। साथीको संगत, बेरोजगारी, नैराश्यलगायतका कारण युवाहरू दुर्व्यसनीमा फस्दै गएको पाइएको छ। पछिल्लो समय कैलाली र कञ्चनपुरमा दैनिक चार जनाको हाराहारीमा दुर्व्यसनीलाई पक्राउ गरी मुद्दा चलाउने गरिएको छ। अहिले कारागार चलान हुनेमा लागुऔषध सेवन, कारोबार र ओसारपसारमा संलग्नको संख्या सबैभन्दा उच्च देखिएको छ।

कमेन्ट लोड गर्नुस