सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा बचतकर्ताको रकम लघुवित्तले डुबायो

२०८१ भदौ २९, ०७:१७ नारायण अवस्थी

धनगढीः कैलालीको गोदावरी नगरपालिमा एक लघुवित्तले बचतकर्ताको बचत फिर्ता गर्न आनाकानी गर्दै आएको छ।

गोदावरी नगरपालिका–८ हरिनगरमा सञ्चालित नेश्नल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले बचत फिर्ता गर्न आनाकानी गर्दै आएको हो। २०७५ साउन २० गतेबाट हरिनगर महिला समूह गठन गरेर समूहका १२ जनाबाट मासिक बचत संकलन गरेको सो लघुवित्तले बचत फिर्ता गर्न मानेको छैन्।

समूहका १२ जना सदस्य मध्ये २ जनाले लिएको एक÷एक लाख ऋणका कारण बाँकी १० जनाको तीन वर्षको बचत डुबेको छ। लघुवित्तबाट दुई जनाले ऋण लिएर फिर्ता नगरेपछि बाँकी सदस्यले २०७७ भदौदेखि  बचत  गर्न छोडेका छन्। बचत गर्न छोडेपछि लघुवित्तले हिसाब किताबसमेत हेर्न नदिएको गुनासो गरिएको छ।
दुई जनाका कारण १० जनाको बचत डुब्यो
गेटामा कार्यालय रहेको नेश्नल माइक्रोफाइनान्स वित्तीय संस्थाले २०७५ साउन २० गते गोदावरी–८ को हरिनगरमा महिला समूह गठन गरेको थियो। वित्तीय संस्थाका प्रतिनिधि एकेन्द्र अधिकारीले १२ जनाको समूह गठन गरेका थिए। मासिक एघार सय र एक हजारका दरले बचत कर्ताले करिब ३ वर्ष बचत गरेको पैसाको हिसाब किताब लघुवित्तले देखाएको छैन।

गिट्टी कुटेर तथा वृद्ध भत्ताको बचत गरेको पैसा लघुवित्तले फिर्ता नदिएको मासिक एक हजारको दरले बचत गरेको बताउने बृद्धा शकुन्तलादेवी चौधरीले बताइन्। उनले बचत फिर्ता नपाउँदा उपचार गर्न समस्या भएको बताएकी छन्। ‘मैले गिट्टी कुटेर, भत्ता बुझेर महिनाको एक हजार बचत गरेकी हुँ। तर, अहिले लघुवित्तले पैसा फिर्ता नदिँदा उपचार गर्न समस्या भएको छ’, चौधरीले गुनासो गरिन्।

सुरूमा कर्मचारी गाउँमा पठाएर समूह गठन गरेको लघुवित्तले अहिले दुई जना व्यक्तिले लिएको ऋण देखाएर अन्य सदस्यको बचत फिर्ता नदिएको समूहकी सचिव प्रिति चौधरी थापाले बताइन्। उनले समूह गठन गर्दा जुनसुकै बेला समूह छोड्न मिल्ने र बचत फिर्ता पाइने बताए पनि अहिले दुई जनाले ऋण नतिरेको भन्दै बचत फिर्ता नगरिएको बताइन्।

‘सुरूमा सरहरूले बचत गर्नुपर्छ भनेर भने, समूह जतिबेला पनि छोड्न पाउने बताएका थिए’, उनले भनिन्, ‘अहिले समूहमा बचत गर्न छोडेको र दुई जनाले ऋण फिर्ता नगरेको भन्दै अन्य १० जनाको बचत बारे समेत भन्न नमिल्ने भन्दै फर्काउने गरेका छन्।’ समूहका दुई जना सदस्य धनी थापा मगर र झरना बुढामगरले जनही एक लाख ऋण लिएको समूहको अभिलेख रजिष्टरमा उल्लेख छ।

अन्य सदस्यहरूले पनि ऋण लिएको भए पनि सबैले चुक्ता गरेको समूहसँग रहेको अभिलेखले देखाएको छ। २०७७ सालदेखि  समूहमा बचत गर्न छोडिएको छ। समूहका सदस्यहरूको बचत बारे बुझ्न जाँदा लघुवित्तले दुई जनाले ऋण नतिर्दासम्म रकम बारे केही बताउन नमिल्ने भन्दै आफूहरूलाई फर्काउने गरेको प्रिति चौधरी थापाले बताइन्। उनले पहिला दुई जना ऋणीलाई ल्याउन लघुवित्तका कर्मचारीहरूले दबाब दिने गरेको बताइन्।

तर, ऋण लिएका धनी थापा मगर अहिले हरिनगरमा बस्दैनन् भने झरना बुढामगरले पतिसँग सम्बन्ध विच्छेद गरेर अन्तै गएकी छन्। लघुवित्तले भने दुबै जना ऋणीलाई नल्याउँदासम्म अन्य बचतकर्ताको बचतबारे समेत केही नबताउने अडान लिँदै आएको पीडितहरूले बताएका छन्। हरिनगरमा समूह गठन गर्न गएका लघुवित्तका प्रतिनिधि एकेन्द्र अधिकारीले समूहको बारेमा आफूले केही बताउन नसक्ने बताए। उनले आफू अहिले त्यो क्षेत्रमा कार्यरत नभएको बताए।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस