सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एक छात्रासहित पाँच जना नदीमा बगे, तीन जना बेपत्ता

२०८१ भदौ २९, ०३:३१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा एक छात्रासहित पाँच जना नदीमा बगेका छन्।

कैलाली, कञ्चनपुर, डडेल्धुरा र डोटीमा गरेर पाँच जना नदीमा बगेका हुन्। आज (शनिबार) र हिजो (शुक्रबार) पाँच जना नदीमा बगेका हुन्। कैलाली र कञ्चनपुरमा एकैदिन एक युवक र दुई किशोर नदीमा बगेका छन्। आज (शनिबार) विहान कञ्चनपुरको महाकाली नदीमा २ किशोर र कैलालीको धनगढीस्थित वनकट्टीस्थित मोहना नदीमा डुबेर एक युवक बेपत्ता भएका छन्।

महाकाली नदीमा बगेर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरी नजिकै दाउरा निकाल्ने क्रममा शनिबार बिहान दुई किशोर बगेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक इश्वर थापाका अनुसार १८ वर्षीय सौरभ दमाई र १५ वर्षीय अभि दमाई नदीमा बगेका थिए। सौरभको शव भेटिएको उनले बताए। अभिको खोजी भइरहेको छ।

महाकाली नदीमा बाढीले बगाएर ल्याएका दाउरा संकलनका लागि स्थानीय नदी किनारमा जाने गरेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार महाकालीमा पानीको बहाव घटिरहेको छ। शनिबार दिउँसोका मापन अनुसार पानीको बहाव २ लाख क्युसेक पुगेको छ। शुक्रबार पानीको वहाव ४ लाख ६१ हजार क्युसेक पुगेको थियो।

यता कैलालीको धनगढी उपमहानगरपालिका–९ बनकट्टी घाटमा मोहना नदी तर्नेक्रममा धनगढी–१० का अन्दाजी २७ वर्षीय विशाल राना डुबेर बेपत्ता भएका हुन्। बेपत्ता रानाको खोजी गर्न अहिले घटनास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। हिजो (शुक्रबार) मात्र डडेल्धुरामा खोलामा बगेर एक छात्राको मृत्यु थियो।

शुक्रबार विहान जिल्लाको पर्शुराम नगरपालिका–८ धनुचेकी करिब १५ वर्षीया छात्रा प्रतिभा धामीको खोलामा बगेर मृत्यु भएको हो। श्री बैजनाथ माध्यमिक विद्यालयमा ट्यूसन पढ्न जाने क्रममा सोही स्थानको जम्रानी खोला तर्ने क्रममा खोलाले बगाएर उनको मृत्यु भएको थियो भने डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन्। जिल्लाको केआईसिंह गाउँपालिका–४ कार्कीगाँउकी महामति चन्दकी ८ वर्षीय छोरी निर्मला चन्द बेपत्ता भएकी हुन्। गाउँको बायल बजारमा दूध बेच्न जाने क्रममा बालिकालाई बन्ने खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

कमेन्ट लोड गर्नुस