सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको सिमचौर साना किसान कृषि सहकारीको हिसाब गन्जागोल

२०८१ भदौ २७, ०७:२४ कमल सावद

धनगढी: कैलालीको अत्तरियामा रहेको साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडबाट २५ लाख रुपैयाँ ऋण सहयोग लगेर सिमचौर साना किसान कृषि सहकारी संस्था २०७० सालमा सञ्चालनमा आयो।

सहकारीका तत्कालीन अध्यक्ष खेमबहादुर मगरले १० लाखको बाख्रा पालन कार्यक्रमसमेत सञ्चालन गरे। डोटीको बोगटान–फुड्सिल गाउँपालिका–१ का किसानहरूलाई तराजु, पाइप, बिउ, अदुवाको बिउ लगायतका कृषि सामाग्रीसमेत सहकारीले वितरण गरेको थियो। स्थानीय तहको निर्वाचनको समयमा अध्यक्ष रहेका खेमबहादुर मगरले राजीनामा दिए। राजीनामा दिदा तीन करोड सहकारीको पुजी रहेको बोगटान–फुड्सिल गाउँपालिका–१ का अध्यक्ष खेमबहादुर मगरले बताए। उनले भने, ‘ढाई वर्ष पहिला राजीनामा दिएको हो। तीन करोड पुजी थियो। चुनावको समयमा राजीनामा दिएको हो। हिसाब बुझाएको थिए।’

गन्जागोल हिसाब

डोटीको सिमचौर साना किसान कृषि सहकारीको आफ्नै भवन छ। दुई जना कर्मचारीले काम गर्दै आएका छन्। तर, ऋण लगानीको हिसाब, किसानबाट सङ्कलन गरिएको रकम, ऋण लगानी लगाएतको हिसाब गन्जागोल रहेको छ। सहकारीका पूर्व अध्यक्ष खेमबहादुर मगरले ढाई वर्ष अगाडी तीन करोडको पुजी रहेको दाबी गरेका बेला सहकारीले भने दुई करोड ३७ लाखको मात्र पूजी रहेको बताएकाे छ। सहकारीले हाल एक करोड बढी रकम ऋण लगानी गरेको छ। तर, सहकारीसँग ऋण लगानीको एकिन विवरण भने छैन। सिमचौर साना किसान कृषि सहकारीका कार्यकारी निर्देशक हरिकला बमले एक करोड ऋण लगानी रहेको बताइन। उनले भनिन, ‘एक करोड ऋण लगानी होला। दुई करोड ३७ लाख पुजी छ। दुई वर्षदेखि किसानलाई केही वितरण गरेका छैनौ।’

डोटीको सिमचौर साना किसान कृषि सहकारी संस्थाको हिसाब गन्जागोल देखिएको हो। डोटीको बोगटान–फुड्सील गाउँपालिका–१ छिडिखानमा रहेको सिमचौर साना किसान कृषि सहकारी संस्थाको रकमको हिसाब भद्रगोल देखिएको हो। कैलालीको अत्तरियामा रहेको साना किसान लघुवित्तबाट २५ लाख रुपैयाँ ऋण लिएर सञ्चालन गरिएको सहकारीले झण्डै एक करोड रुपैयाँ ऋण लगानी गरेको छ। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका एक कर्मचारीले भने, ‘हाम्रो सबै रकम फिर्ता आएको छ। हामीले पाउनुपर्ने रकम पाएका छौ। तर, उहाँहरू हिसाब सारै गन्जागोल थियो। हामीहरूले हिसाब माग्दा पनि उहाँहरूले दिन सक्नु भएन। हिसाब नै राख्नु हुँदैन।’

कर्मचारी गाउँ जाँदैनन

डोटीको सिमचौर साना किसान कृषि सहकारीमा कर्मचारीको अभाव देखाउदै ऋणको किस्तासमेत असुली गर्ने गरिएको छैन। सहकारीको पूर्व अध्यक्षसमेत रहेका वडाध्यक्ष खेमबहादुर मगरकी श्रीमतीको नाममा रहेको तीन लाख ऋणबाट एक लाख ५० हजार असुल भएको छैन। चार महिनादेखि वडाध्यक्षलेसमेत सिमचौर साना किसानको ऋणको किस्ता नदिएका हुन्। बर्सातको समय देखाउदै सहकारीका कर्मचारीसमेत गाउँ गएका छैनन। किसानबाट सहकारीले १६ प्रतिशत व्याजसहित सावा रकम सङ्कलन गर्ने गरेको छ। बमले भनिन, ‘गाउँ जान पाएको छैन। गाउँ–घरमा व्याज रोकिएकै हुन्छ। सबैले दियो भने, दिहाल्लान भन्ने हो। अध्यक्षको पनि व्याज रोकिएको छ।’ बर्सात र कर्मचारी अभावका कारण किसानको घर–दैलोमा जान नसकिएको बमले बताएकी हुन्।

सिमचौर साना किसान कृषि सहकारीले कारोबारको पोस्टिङ नगर्ने, एकाउन्ट नराख्ने लगाएतका कारणले साना किसान लघुवित्तले दोस्रो पटक लगानी गरेको छैन।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस