सुदूरपश्चिम सरकारले धनगढीका १९ सडक कालोपत्र गर्दै
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा १९ वटा सडक कालोपत्र गर्दैछ। धनगढी बजार क्षेत्रका १९ सडकको ११ किलोमिटर कालोपत्रका लागि ठेक्का मार्फत काम थालिएको हो।
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मातहतको पूर्वाधार कार्यालय, कैलाली मार्फत सडक कालोपत्र गरिन थालिएको छ। निर्माण कम्पनीहरूले सडक निर्माणका लागि नाली निर्माणको काम सुरु गरेका छन। पूर्वाधार कार्यालय, कैलालीका प्रमुख रामचन्द्र खत्रीले सडकका नाली निर्माणको काम जारी रहेको बताए। प्रदेश सरकारले ६ वटा ठेक्का मार्फत धनगढीका १९ सडक कालोपत्र गर्दै छ। प्रदेश सरकारले गत वैशाखमा सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको थियो। १५ किलोमिटर नाली र ११ दशमलव पाँच किलोमिटर सडक कालोपत्रको काम जारी रहेको छ।
पूर्वाधार विकास कार्यालय, कैलालीले ५२ करोड चार लाख ३४ हजार चार सय ५० रुपैयाँमा ६ वटा ठेक्का मार्फत सडक कालोपत्र गर्दै छ। प्रदेश सरकारले हालसम्म सडक निर्माणमा पाँच करोड ६५ लाख ६७ हजार आठ सय ८२ रुपैयाँ खर्च गरेको छ। टेम्पल रिसोट–शिवपुरी धाम–तुलसी चोक सडकको भौतिक प्रगति ४० प्रतिशत पूरा भएको छ। रुबस होटेल–बैयाबेहडी सडकको ३० प्रतिशत, न्यासनल मार्गको ६० प्रतिशत, पुरानो भन्सार रोडको २८ प्रतिशत, पुपलाल चोक–धनगढी गाउँ सडकको ४० प्रतिशत, त्रिवेणी सडकको २५ प्रतिशत, चटकपुर–फाप्ला सडकको ३० प्रतिशत काम सकिएको छ।
यस्तै, मैदामिल–हिमाली गाउँ–कैलाली गाउँ सडकको ३५ प्रतिशत, बहिरा स्कुल सडकको ३० प्रतिशत, गठबन्ध चोक– शिवपुर धाम सडकको ४० प्रतिशत, कृष्ण टोल सडकको ४० प्रतिशत, सहिद गेट–शिवपुरी न्यूरोडको ३० प्रतिशत र खप्तड बडीमालिका टोल सडकको १० प्रतिशत काम पूरा भएको छ। अन्य सडकहरुको निर्माण कम्पनीले काम सुरु समेत गरेका छैनन। २०८१ को वैशाखमा सम्झौता गरिएको धनगढीका १९ सडक निर्माणको काम २०८२ असारसम्म पूरा गर्नुपर्ने छ।