सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारीमा पावर टिलरको नाममा ठगिएका ४३ किसानले २७ लाख पाएनन

फाइल फोटो
फाइल फोटो
२०८१ भदौ २७, १२:०६ कमल सावद

धनगढी : कैलालीको कैलारी गाउँपालिकाका ४३ किसानबाट बिचौलियाले असुल गरेको २७ लाख रुपैयाँ अझै फिर्ता भएको छैन। कैलारी गाउँपालिका–५ सडकपुरका ४३ किसानबाट बिचौलियाहरूले असुल गरेको २६ लाख ७६ हजार सात सय ५० रुपैयाँ फिर्ता नभएको हो।

कैलारी गाउँपालिका–५ का किसानहरूले पावर टिलरका लागि गाउँकै रुपनारायण चौधरी, सन्तकुमार चौधरीलगायतलाई ६२ हजार दुई सय ५० रुपैयाँका दरले रकम दिएका थिए। सुरो नेपाल नामक संस्थाबाट पावर टिलर र पानी मोटर वितरण गर्ने भन्दै उनीहरूले किसानबाट रकम असुल गरेका हुन्। तर, सुरो नेपालले सम्झौताको समय भित्रमा पावर टिलर र पानी मोटर वितरण गर्न नसकेपछि बिचौलियाहरू फरार भएका छन्।

कैलाली गाउँपालिका–५ का एक किसानले गाउँकै बिचौलियाका कारण लाखौँ रकम फिर्ता नभएको बताएका छन्। तर, उनीहरू सबै फरार रहेका उनले बताए। उनले भने, ‘गाउँका रुपनारायणलाई पैसा दिएका हौ। हामीबाट ६२ हजार दुई सय ५० रुपैयाँका दरले पैसा लिनु भएको हो। हामीले पावर टिलर पाएनौ। अहिलेसम्म पैसा पनि फिर्ता पाएका छैनौ। एक पटक पाँच लाख फिर्ता दिनु भएको थियो। ११ हजारका दरले वितरण गरेका हौ। फेरि दुई लाख ५० हजार पठाउनु भएको छ। हामीले वितरण गरेका छैनौ।’

कैलाली गाउँपालिका–५ का ४३ किसानबाट २६ लाख ७६ हजार सात सय ५० रुपैयाँ असुल गरेका बिचौलियाहरूले दुई किस्तामा हालसम्म सात लाख ५० हजार मात्र किसानको रकम फिर्ता गरेका हुन्। बिचौलियाहरूले किसानलाई १९ लाख २६ हजार सात सय ५० रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ। कैलारी गाउँपालिका–५ का रुपनारायण चौधरी र सन्तकुमार चौधरी, कैलारी गाउँपालिका–३ का दिनेश चौधरी र श्रवण चौधरी, धनगढी उपमहानगरपालिका–७ का मेलाराम रानाको समूहले किसानलाई पावर टिलर वितरण गर्ने भन्दै ठगेका हुन्। दिनेश चौधरी र श्रवण चौधरी गाउँमा देखिने गरेका किसानले बताएका छन। सन्तकुमार चौधरीले काठमाडौँमा रहेको र रकम फिर्ता गर्ने किसानलाई आश्वासन दिने गरेका छन्। तर, धनगढीका मेलारामसहितका बिचौलियाहरू फरार रहेका छन्। उनीहरूसँग किसानको फोन सम्पर्कसमेत हुन सकिरहेको छैन।

सुरो नेपालकी अध्यक्ष सुशीला खड्का ओझाले सन्तकुमार चौधरीबाट पावर टिलरका लागि रकम जम्मा भएको बताइन। उनले किसानहरूलाई वडाको सिफारिस लगाएतका कागजसहित आउन भनेको बताइन। उनले भनिन्, 'सुरुमा समस्या देखिएकै, उहाँहरूको हो। अहिलेसम्म सुल्झिएको छैन। मैले चिन्ने सन्तकुमारलाई हो। उहाँबाट पैसा पनि आएको छ। किसानहरूले समाउने उहाँलाई हो। हामीले वडाको सिफारिससहित आउन भनेका छौ।'

बिचौलियाहरू फरार भएपछि कैलारी गाउँपालिका–५ का किसानहरुले उपाध्यक्ष भगवती कुमारी चौधरीलाई भेटेका थिए। चौधरीको घरमा गएका किसानहरूले बिचौलियाहरूले पावर टिलर वितरण गर्ने भन्दै ठगेको बताएका थिए। तर, उपाध्यक्ष चौधरीले कैलारी गाउँपालिकामा आधिकारिक पत्र दर्ता गर्न सुझाव दिएको बताएकी छन्। उनले भनिन्, ‘मेरो घरमा पैसा फिर्ता नपाएको भन्दै किसानहरू आउनु भएको थियो। उहाँहरूले बिचौलियालाई पैसा दिनु भएको रहेछ। गाउँपालिकामा सबै जनाले निवेदन दिन भनेको छु।’

कैलारी गाउँपालिकाको कालीमाई बहुदेशीय सहकारीका अध्यक्ष अमृत चौधरी, अखुवा कृषि सहकारी संस्थाका अध्यक्ष सीताराम चौधरी, कैलारी गाउँपालिका–५ छोटी पलियाका शंकर चौधरी, कैलारी गाउँपालिका–६ बेनौलीका राम शरण महतो, कैलारी गाउँपालिका–६ सुर्मीका विनोद चौधरीलगयतसँग गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले कागज बनाएका थिए। उनीहरूले गाउँपालिकासँग किसानबाट सङ्कलन गरेको रकम फिर्ता गर्न कागज बनाएका हुन्। तर,कैलारी गाउँपालिका–५ सडकपुरका ४३ किसानलाई ठगी गर्नेहरूसँग गाउँपालिकालेसमेत कागज गरेको छैन।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस