सुदूर नेपाललाई विश्वसँग जोड्दै

तस्करीमा संलग्न कैलाली भन्सारका कर्मचारीको पुनर्बहाली गरेर हाकीम टाप

२०८१ भदौ २६, ०९:४५ कमल सावद

धनगढीः कैलाली भन्सार कार्यालयका तत्कालीन प्रमुख राजेन्द्रकुमार हमालले चार सय ६५ प्याकेट सुर्ती तस्करी गर्ने कर्मचारीको पुनर्बहाली गरेका छन्।

प्रमुख भन्सार अधिकृत हमालको भने विभागमा सरुवा भइसकेको छ। तर, उनले कैलाली भन्सार कार्यालयमै हुँदा सुर्ती तस्करीको आरोपमा निलम्बनमा परेका कर्मचारीहरुको पुनर्बहाली गरेको विषय बाहिर आएको हो। उनले सुर्ती तस्करीमा एक लाख दुई हजारका दरले धरौटी रकम जग्गा गरेका नृप भण्डारी र गोपाल चौधरीको पुनर्बहाली गरेका हुन।

कर्मचारीबाट तस्करीको समान खरिद गर्ने व्यापारी विशाल गुप्तालाई समेत एक लाख २ हजार धरौटीमा छोडिएको छ। तस्करी रोक्ने निकाय आफै तस्करीमा लागेको विषय गत असार १६ गते सार्वजनिक भएको थियोे। राजस्व चुहावट र भन्सार छली रोक्न सक्रिय हुनुपर्ने निकाय आफै तस्करीमा संलग्न रहेको विषय प्रमुख भन्सार अधिकृत हमालले लुकाउदै आएका थिए।

२०८१ असार १५ गते भन्सार कार्यालयमा कपडाभित्र लुकाएर सुर्ती तथा बिडी तस्करी भएको तथ्य फेला परेको थियो। कैलाली भन्सारले लिलाम गरेका कपडाभित्र सुर्तीजन्य पदार्थ फेला परेपछि भन्सार कार्यालयका कर्मचारीबाटै तस्करी हुने गरेको तथ्य बाहिर आएको थियो। तर, भन्सार कार्यालयका तत्कालीन प्रमुख हमालले सो विषयमा कुनै प्रतिक्रिया दिन मानेका छैनन्। उनले सो विषयमा प्रतिकृया नदिने बताए। 

यता, भन्सार स्रोतले करार सेवाका कर्मचारीहरू नृप भण्डारी, गोपाल चौधरी र व्यापारी विशाल गुप्तालाई सो घटनामा धरौटी रकम तिराइएको बताएको छ। दुई कर्मचारी र एक व्यापारीले तीन लाख ६ हजार धरौटी रकम तिरेका छन्। कार्यालय प्रमुखको निर्देशनमा कार्यालय सहयोगीहरुले सुर्ती तस्करी गरेकाले उनीहरुको पुनर्बहाली गरेको हुन सक्ने भन्सार स्रोतले बताएको छ।

तर, कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिमिल्सेनाले यो विषयमा कुनै जानकारी नभएको दाबी गरेका छन्। उनी सोमवार मात्र सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयबाट कैलाली भन्सार कार्यालयमा हाजिर भएका हुन्। 
सबै प्रशासनिक कार्यहरू बन्द रहेका बेला २०८१ असार १५ गते शनिवार सुर्तीजन्य पदार्थ भन्सारका कर्मचारीहरूले तस्करी गरेका थिए।

उनीहरूले धनगढीकै एउटा व्यापारीको फर्मको नाममा चार लाख ४० हजारमा लत्ताकपडा लिलामी सदर गरेका थिए। व्यापारीको फर्मको नाममा ८ वटा मुद्दाका छुट्टाछुट्टै सामानको लिलामी सदर भएको थियो। सदर भएका सामानमा सुट, कुर्ती, खेलौना, भाडा, उलन सर्ट लगायतका सामान थिए।

व्यापारीले दुईवटा अटोमा सामान लोड गरेर लग्दै गर्दा कैलाली भन्सार कार्यालयको एक सय मिटर उत्तरतर्फ रहेको सशस्त्र प्रहरीले कपडाभित्र लुकाएर सुर्तीजन्य पदार्थ तस्करी भएको तथ्य फेला पारेको थियो। जाँच टोलीले उक्त कपडाभित्र सुर्तीजन्य पदार्थ फेला पारेपछि भन्सार कार्यालयबाट तस्करी हुने गरेको विषय सार्वजनिक भएको थियो।

अटोमा लोड गरिएका कपडाभित्र सुपरपावर सुर्ती २ सय पाकेट, २ सय ६५ पाकेट बिडी र सुइट सुपारी लुकाइएको थियो। सशस्त्र प्रहरीले कपडाभित्र लुकाएर लैजान लागेको अवस्थामा बरामद गरिएको सुर्तीजन्य पदार्थको वजार मूल्य करिब ६० हजार छ। भन्सार कार्यालयले लिलाम गरेको कपडाभित्र सुर्तीजन्य पदार्थ फेला परेको विषयमा कैलाली भन्सार कार्यालयका तत्कालीन प्रमुख हमालले सुरुदेखि नै कुनै प्रतिक्रिया दिन मानेका थिएनन। हमालको भने विभागमा सरुवा भइसकेको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस