सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुद्धको पहिलो एटीआर विमानलाई बिदाइ

२०८१ भदौ २५, ०४:१७ खबर संवाददाता

काठमाडौँः नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको एउटा एटीआर–४२ विमान सोमबारदेखि सदाका लागि व्यावसायिक उडानबाट ‘बिदा’ भएको छ।

मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहबीच सम्मानस्वरूप पानीको फोहोराले सलामी (वाटर स्यालुट) दिएर उक्त जहाजलाई बिदा गरिएको हो। बुद्ध एयरले १६ वर्षदेखि आन्तरिक गन्तव्यहरूमा उडाइरहेको ४७ सिट क्षमताको ‘नाइन नोभेम्बर–अल्फा इन्डिया नोभेम्बर’ रजिस्ट्रेसन भएको एटीआर विमानलाई बिदा गरेको हो।

आन्तरिक उडानमा बुद्ध एयरले सन् २००८ मा भित्र्याएको यो उसको पहिलो एटीआर विमान थियो। बुद्ध नेपालमा सबैभन्दा धेरै एटीआर विमान उडान गर्ने वायुसेवा कम्पनी हो। ३० हजार हाराहारी साइकल विदेशमा उडिसकेको यो विमान खरिद गरेर नेपाल ल्याइएको थियो। उडानमा एउटा टेकअफ र एउटा ल्यान्डिङलाई एक साइकल मानिन्छ। यो विमानको अझै १७ वटा साइकल बाँकी थियो।

७० हजार उडान साइकल पूरा भएपछि टर्बोप्रप एटीआर विमानको ल्यान्डिङ गियर, इन्जिन, ककपिटमा जडान भएका यन्त्र उपकरणबाहेक फ्युसलाज (विमानको मुख्य शरीर वा ढाँचा) लाई व्यावसायिक उडानमा प्रयोग गर्न नपाइने एटीआरको नियम छ। बुद्धले यो विमानबाट सोमबार मात्र १४ वटा आन्तरिक उडान गरेको थियो।

मंगलबार बिहान पनि यो जहाजले पर्वतीय उडान भरेको थियो। त्यही नै यसको अन्तिम उडानसमेत बन्यो। अब यो विमानको दर्ता खारेजी हुनेछ। यसमा प्रयोग भएका काम लाग्ने उपकरण झिकेर खोक्रो ढाँचा नागरिक उड्डयन प्राधिकरणलाई अभ्यासका लागि दिइने बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले बताए।

कमेन्ट लोड गर्नुस