सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरियाका २ सहकारीमा चोरी

२०८१ भदौ २५, ११:०६ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियाका २ सहकारीमा चोरी भएको छ। साना किसान कृषि सहकारी र मानाङ्क बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो।

सहकारी तोडफोड गरेर सीसीक्यामराको डिभाइससमेत चोरी गरिएको छ। झ्यालको ढोका फुटाएर लकरबाट चोरी गर्ने प्रयास गरिएको छ। लकरमा चोरले तीनवटा ताला समेत टुटाएका छन्। तर पैसा फेला नपरेपछि छोडिएको छ। सहकारीबाट नगद चोरी नभए पनि करिब एक लाख ४० हजार मूल्यको भौतिक क्षति भएको छ।

सोमवार बिहान कार्यालय खोल्ने समयमा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो। त्यस्तै मानाङ्क बचत तथा ऋण सहकारीमा पनि मुख्य ढोकाको च्यानल गेट फुटाएर चोरी गरिएको छ। सो सहकारीको च्यानल गेटबाट भित्र पसेर हलमा ल्यापटप चोरी गरेर तोडफोड गरेको अवस्थामा फेला परेको छ। सिसिटिभी डिभाइस समेत चोरी गरिएको छ।

दुबै सहकारीले चोरीको विषयमा इलाका प्रहरी कार्यालय, मालाखेतीमा निवेदन दिएका छन्। प्रहरीले अनुसन्धानको प्रक्रियामा रहेको बताएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले घटनामा सङ्लग्नहरूको खोजी गर्ने काम भइरहेको बताएका छन्।

कमेन्ट लोड गर्नुस