सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा सुत्केरी मृत्यु प्रकरणः तीन बुदे सहमतिपछि विवाद साम्य

२०७६ असार १, ०७:२० खबर संवाददाता

डडेल्धुरा अस्पतालमा सुत्केरीको मृत्यु भएपछि भएको विवाद तीन बुदे सहमतिपछि साम्य भएको छ। स्थानीय प्रशासन, डडेल्धुरा अस्पताल र मृतकका आफन्तबिच तीन बुँदे सहमति भएपछि विवाद साम्य भएको हो। घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन टोली खटाउने, मृतकको पोष्टमार्टम जिल्ला बाहिरका चिकित्सकबाट गर्ने र मृतकका आफन्तलाई नियमनुसार राहत उपलब्ध गराउने बुँदाहरुमा सहमती भएको हो। 

गृह मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुदूरपश्चिम, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशलाई बोधार्थ गरी घटनाबारे आवश्यक सहयोग गर्न प्रशासन कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएपछि जिल्ला सदरमुकामको अवस्था सामान्य बन्न थालेको हो। 

शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६, छचोडाकी २६ वर्षीया गीता ताम्राकारको शुक्रबार दिउँसो डडेल्धुरा अस्पतालमा मृत्यु भएपछि अस्पताल, जिल्ला प्रशासन कार्यालय र सडकमा मृतकका आफन्तले प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए। यद्यपी अहिले सम्म पनि मृतकका आफन्तले शव बुझेका छैनन्। 
 

कमेन्ट लोड गर्नुस