भेनेजुएलाको राष्ट्रपती एडमुण्डो गोन्जाले स्पेनको शरणमा
एजेन्सीः भेनेजुएलाको राष्ट्रपतीय निर्वाचन जितेको मानिएका विपक्षीका साझा उम्मेदवार एडमुण्डो गोन्जालेजले स्पेनमा शरण लिएका छन्।
जुलाई २८ मा भएको निर्वाचन ७५ वर्षीय पूर्वकूटनीतिज्ञ गोन्जालेजले जितेको मानिन्छ। तर राष्ट्रपति निकोलास मादुरोको समाजवादी पार्टीका सदस्यको नेतृत्वमा रहेको निर्वाचन गर्ने निकायले ६१ वर्षीय मादुरो निर्वाचित भएको घोषणा गरेको थियो।
विपक्षीले भोटिङ मेसिनको कागजातका आधारमा प्रकाशित गरेको मत परिणामको छानबिन गर्न भनेर मादुरोका महान्यायाधिवक्ताले गोन्जालेजको नाममा पक्राउ पूर्जी जारी गरेका थिए। त्यसको पाँच दिनपछि उनले देश छोडेर स्पेनमा शरण लिएका हुन्।
स्पेनका विदेशमन्त्री होजे म्यानुअल अल्वारेजले गोन्जालेज स्पेनी वायुसेनाको हवाई जहाजमा स्पेन गएको सामाजिक संजाल एक्समार्फत पुष्टि गरेका छन्। मादुरोकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले पनि इन्स्टाग्राममार्फत देशमा राजनीतिक शान्तिका लागि सरकारले गोन्जालेजलाई सुरक्षित रूपमा जान दिएको बताएकी छिन्।
चुनावको नतिजा घोषणा गर्न ६ घण्टा ढिलो गर्दै मादुरो नियन्त्रित निर्वाचन गर्ने निकायले मादुरोलाई विजयी घोषणा गरेको थियो। उसका अनुसार मादुरोले ५१ प्रतिशत मत प्राप्त गरे भने गोन्जालेजले केवल ४४ प्रतिशत भोट पाए। निर्वाचन गर्ने निकायले त्यति बेला ढिलाइका लागि ’आतंककारी’ लाई दोष दिएको थियो। तर उक्त निकायले धाँधली गर्न ढिलो गरेको आरोप लगाउँदै विपक्षीले आफ्नो उम्मेदवार विजयी भएको दाबी गरेका थिए।