सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी नगर प्रहरीले सडक किनारमा राखेका निर्माण सामग्री हटाउन थाल्यो

२०८१ भदौ २३, १०:०९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा सडक किनारमा राखिएका निर्माण सामग्री हटाउने काम सुरु भएको छ।

उपमहानगरपालिकाले पैदल यात्रुलाई नै असर पर्ने गरी सडक किनारमा राखिएका निर्माण सामग्री हटाउन थालेको छ। नगर प्रहरीले सडक किनारमा राखिएका निर्माण सामग्री ढुंगा, गिट्टी, बालुवा लगायतका सामग्री हटाउन सुरु गरेको छ। ‘हर घडी नगर प्रहरी’ अभियान अन्तर्गत सहर सौन्दर्यकरणका लागि सडक किनारमा अनावश्यक रुपमा राखिएका सामग्री हटाउने कार्य शनिवारदेखि सुरु गरिएको छ।

सडक दायाँबायाँ व्यवसायी एवं घर धनीले सवारीचालक एवं पैदल यात्रुहरुलाई नै असर पर्ने गरी राखिएका निर्माण सामग्री हटाउने काममा नगर प्रहरी खटिएको छ। धनगढीका धेरै स्थानमा यसरी राखिएका निर्माण सामग्री हटाइसकिएको उपमहानगरपालिकाले जनाएको छ। कहिकतै सडक किनारामा निर्माण सामग्री राखेको पाइए उपमहानगरलाई जानकारी गराउन समेत अनुरोध गरिएको छ।

‘हाम्रो धनगढी सफा धनगढी’ अभियानलाई मुर्तरुप दिन दैनिक रुपमा सरसफाई गर्ने काम हुँदै आएको अवस्थामा सडक किनारमा जथाभावी निर्माण सामग्रीले सहरी सौन्दर्यतामै असर पुगाएपछि यस्ता सामग्री क्रमशः हटाउँदै जाने तयारीमा उपमहानगर जुटेको छ। साथै सडक किनारमा राखिएका आफ्ना निर्माण सामग्री आफै हटाएर उपमहानगरलाई सहयोग गर्न व्यवसायी एवं घरधनीलाई आग्रह समेत गरेको छ।

कमेन्ट लोड गर्नुस