सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सडकका नाली बन्द भए तत्काल खबर गर्न उपमहानगरको आग्रह

२०८१ भदौ २२, ०६:४५ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा नाली बन्द (थुनिए) तत्काल खबर गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ। वडा कार्यालय तथा जुनसुकै नगरबासीले नाली बन्द भएको खबर गर्नासाथ खोल्न सफाइ कर्मचारी पठाउने उपमहानगरले बताएको छ।

नाली बन्द भएको, फोहरमैलाले भरिएको खबर प्राप्त हुनासाथ समाधान गर्दै आएको समेत उपमहानगरले बताएको छ। तर केही ठाउँमा भने फोहरमैलाले नाली भरिएको पाइएको छ। स्थानीयले नालीमा फोहरमैला भरिएको तथा ढक्कन नहुँदा समस्या भएको गुनासो गरेका छन्। उपमहानगरले भने निर्माणाधीन सडकमा ढक्कन सहितको नाली निर्माण भइरहेको बताएको छ।
तत्काल खबर गर्न आग्रह 
धनगढी उपमहानगरपालिकाले नियमित रुपमा नाली सफाइ गर्दै आएको बताएको छ। स्थानीयले नाली बन्द भएको खबर गर्नासाथ खुलाउन सफाइ कर्मचारी परिचालन गरिने उपमहानगरपालिकाका सरसफाइ तथा वातावरण शाखा प्रमुख अशोक अवस्थीले बताए।

‘हामीले नियमित रुपमा नाली सफाइ गर्न सरसफाइ कर्मचारीको टिम बनाएर खटाउने गरेका छौं’, उनले भने, ‘अनुगमनको क्रममा नाली भरिएको छ भने आफै सफा गर्छौं, वडाबाट पनि नाली सफा गर्न खबर आउने गरेको छ। यस्तै, नगरवासीले पनि नाली बन्द भएको, पुरिएको खबर गर्दा सफाइ कर्मचारी पठाएर खोल्ने काम गरिन्छ।’
नालीमा ढक्कन नहुँदा समस्या
नगरबासी तथा सडक प्रयोगकर्ताहरूले जथाभावी प्लास्टिक, बोतल, टिनका डिब्बा र अन्य फोहरमैला सडकमा फाल्दा नाली पुरिने समस्या बढ्ने गरेको छ। यस्तै, नगरका भित्री सडकमा निर्माण भएका नालीमा ढक्कन नहुँदा मान्छे लडेर नालीमा खस्ने, सडकको फोहर नालीमा पसेर भरिने, ढुङ्गा ईटा नालीभित्र पस्ने र नालीको दुर्गन्ध सहनुपर्ने समस्या छन्।

तर, नयाँ निर्माणाधीन सबै सडकमा नाली निर्माणसँगै ढक्कन पनि निर्माण हुने भएकाले नाली पुरिने र ढक्कनका कारण दुर्घटना लगायत समस्या नहुने डिभिजनल इन्जिनियर दिजराज भट्टले बताए। उनले नयाँ निर्माणाधीन सडक ढक्कनसहित नाली निर्माण भएकाले समस्या नहुने उनको तर्क छ। ‘अहिले निर्माण भएका सडकमा ढक्कनसहितका नाली निर्माण भएका छन्। पुराना सडकमा क्रमशः ढक्कन निर्माण हुनेछन्।

एकै पटक निर्माण गर्न ठूलो बजेट चाहिने भएकाले क्रमशः बनाउँदै लैजानुपर्छ।’ निर्माणाधीन सडकमा ढक्कन राखिने भए पनि अहिलेसम्म निर्माण भएका भित्री सडकका नालीहरूमा भने तत्काल ढक्कन राख्न नसकिने उपमहानगरले बताएको छ। सडकमा ढक्कन राख्न ठुलो बजेट चाहिने भएकाले बजेट व्यवस्थापन गरेर क्रमशः ढक्कन राखिने डिभिजनल इन्जिनियर भट्टले बताए। तर ढक्कन नहुँदा नालीमा फोहरमैला खसेर भरिने, मान्छे नै लड्ने र समुदायमा नालीको कारण दुर्गन्ध फैलिने समस्या छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस