सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा गिद्धको गणना हुँदै

२०८१ भदौ २२, ०५:३० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा गिद्ध गणनाको कार्य भइरहेको छ। सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा नेपाल पन्छी संरक्षण सङ्घको आर्थिक सहयोगमा गिद्ध पाइने सम्भावित क्षेत्रमा गणना भइरहेको हो।

अवलोकन, गणना र सचेतना प्रवाह गरी गिद्ध दिवस मनाउन लागिएको चरा विज्ञ हिरुलाल डगौराले बताए। उनका अनुसार गिद्ध गणना कार्यक्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा नेचर गाइड एशोसिएशन, एनटिएनसी, कञ्चनपुर चरा संरक्षण समूह, बेलौरी नगरपालिकास्तरीय युवा सञ्जाल लगायतका प्रतिनिधि सहभागी रहेका छन्।

गिद्ध गणना बिहानदेखि सुरु गरिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटा, भतपुरी, तारापुर, निकुञ्जको शुक्लाफाँटा घाँसे मैदानसँगै निकुञ्ज बाह्य क्षेत्रको बन्साहा, पर्सिया, कञ्ज, झिलमिला, बेलडाँडी, किसान मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गणना गर्ने कार्यक्रम रहेको छ। योसंगै कैलालीको खुटिया क्षेत्र र बेलीपतेला क्षेत्रमा पनि गणना भइरहेको छ। पाँचदेखि १० जनासम्मको टोलीमा गणकलाई विभाजन गरी गणना अगाडि बढाएको चरा विज्ञ डगौराले जानकारी दिए।

गणकहरुले गिद्धका प्रजाति छुट्टयाइ सङ्ख्याका साथै क्रियाकलाप (सिनो खाएको, घाम तापेको, पानी खाएको वा नुहाएको, आकाशमा उडेको, झगडा गरेको आदी) अभिलेख राख्ने कार्यसँगै गिद्धलाई हुन सक्ने खतरा र चुनौतीको अभिलेख गर्ने, गिद्धका प्रजाति र उमेर समूह पहिचान सहयोगको लागि पुस्तक, पोस्टर, मर्लिन एपको प्रयोग गरी फोटो तथा भिडियो खिच्ने लगाएतक कार्य समेत गरिने बताईएको छ। यस अघिको सर्भेमा कञ्चनपुरमा गिद्धका एक सय २० बढी गुँड फेला परेका थिए। यसमध्ये लोपोन्मुख अवस्थामा पुगेको डंगर गिद्धका मात्रै एक सय १४ गुँड फेला परेका थिए।
 

कमेन्ट लोड गर्नुस