गौरीफन्टा नाकामा कञ्चनपुर प्रहरीको ज्यादती
धनगढीः गौरीफन्टा नाकामा कञ्चनपुर प्रहरीले ज्यादती गर्ने गरेको सर्वसाधारणले गुनासो गरेका छन्। सिमानाकामा खटिएका सशस्त्र र नेपाल प्रहरीले भन्सार सुरक्षा चेकजाँचको नाममा सर्वसाधारणलाई दुःख दिने गरेका हुन्।
प्रहरीले सीमावर्ती बजारबाट घरायसी प्रयोजनका लागि ल्याइने सामान भन्सार तिर्न नदिएर नियन्त्रणमा लिने गरेका छन्। सर्वसाधारण तथा साना व्यवसायीले भन्सार तिर्ने हिसाबले ल्याएको सामान समेत प्रहरी बीच बाटोमा जबरजस्ती नियन्त्रणमा लिएर अवैध सामान बरामद गरेको दाबी गर्दै आएको गुनासो गरिएको छ।
यसरी गरिन्छ सामान नियन्त्रण
भदौ १४ गते शुक्रवार धनगढीका छविराज कापडीको सामान कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको पचकडिया प्रहरी चौकीका इन्चार्ज गङ्गाराम विकले नियन्त्रणमा लिए। पलियाबाट पसलका लागि ल्याइएको १४ हजारको पूजा सामाग्री कैलाली भन्सार कार्यालय ल्याउने क्रममा चौकी इन्चार्जले आफ्नो सामान नियन्त्रणमा लिएको छविराज कापडीले बताए। उनले कैलाली भन्सारमा लाग्ने शुल्क तिर्ने भनेपछि सशस्त्र प्रहरीले आउन दिए पनि नेपाल प्रहरीले रिक्सामा सामान राख्न लाग्दा नियन्त्रणमा लिएर चौकी लगेको बताए। ‘म काम विशेषले पलिया गएको थिए।
धनगढीमा पूजा सामग्री पसल भएकाले १४ हजार मूल्यको सामान ल्याए,’ उनले भने, ‘गौरीफन्टा नाकामा भन्सार तिरेर सामान लग्ने भन्दा सशस्त्रले आउन दियो। तर, अलि यता आएर रिक्सामा सामान राख्न लाग्दा नेपाल प्रहरीका चौकी इन्चार्ज गङ्गाराम विक आएर सामान चौकीमा लगे। उनले मेरो १४ हजारको सामानलाई ७४ हजारको बनाएर भन्सार बुझाएका छन्। कापडीले कैलाली भन्सार ल्याउँदै गरेको सामान बीच बाटोबाट प्रहरीले उठाएको आरोप लगाएका छन्।
के भन्छन् इन्चार्ज विक?
कापडीले भन्सार तिर्न ल्याउने क्रममा पचकडीया प्रहरी चौकीका इन्चार्ज गङ्गारामले तीन पोका सामान खोसेको बताएका छन्। उनले प्रहरीले १४ हजारको सामानको ७४ हजार मूल्याङ्कन गरेर भन्सार दाखिला गरेको बताए पनि प्रहरीले भने यो कुरामा सत्यता नभएको बताएको छ। प्रहरी चौकी इन्चार्ज गङ्गाराम विकले कापडीले लगाएको आरोप अस्वीकार गरेका छन्। उनले सामान लुकाएर पुनर्वास तर्फ लैजान खोजेको अवस्थामा आफूले नियन्त्रणमा लिएको दाबी गरेका हुन। लुकाएर सामान लैजान खोजेपछि आफूले नियन्त्रणमा लिएको गङ्गारामको दाबी छ।
प्रहरी ज्यादती बारे गृहमन्त्रीलाई गुनासो
गौरीफन्टा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले भारतबाट आउने अधिकांश व्यक्तिलाई दुःख दिने गरेको सर्वसाधारणले गुनासो गर्दै आएका छन्। प्रहरीले नेपाली नागरिक र सुदूरपश्चिम घुम्न आउने भारती नागरिकलाई भन्सार सुरक्षा चेकजाँचका नाममा सास्ती दिने गरेका छन्। सिमानाकामा नेपाली नागरिक र भारती पर्यटकलाई प्रहरी दुःख दिने गरेकाले अनावश्यक चेकजाँच रोक्न मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिन गृहमन्त्री रमेश लेखकसँग गुहार मागिएको छ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति कैलालीका सचिव नृप सुनारले आज गृहमन्त्री लेखकलाई सिमानाकामा हुने अनावश्यक चेकजाँच व्यवस्थित गरेर सर्वसाधारणलाई सजिलो वातावरण बनाउन आग्रह गरेका हुन्। ‘सिमानाकामा प्रहरीले अनावश्यक चेकजाँच गर्ने गरेको छ। जसले गर्दा सर्वसाधारण नेपालीले समस्या भोग्नुपरेको छ,’ उनले भने, ‘भन्सार सुरक्षा चेकजाँचका नाममा भारतीय पर्यटकहरूलाई हरेक ५/५ किलोमिटरमा प्रहरीले चेकजाँच गर्दा उनीहरू यहाँ घुम्न आउने वातावरण बनेको छैन। यो समस्या समाधान गर्न गृहमन्त्री ज्यूलाई अनुरोध गर्दछौँ।’
गृहमन्त्रीले यस्तो भने
प्रहरीले सिमा क्षेत्रमा भन्सार तिर्छुभन्दा समेत सर्वसाधारणको सामान नियन्त्रणमा लिने गरेको छ। भारतीय नम्बर प्लेटको गाडीसहित सुदूरपश्चिम घुम्न आउने भारतीय नागरिकहरूसँग समेत प्रहरीले राम्रो व्यवहार गर्दैन। भारतीय गाडीलाई भन्सार सुरक्षा चेकजाँचका नाममा ठाउँ–ठाउँमा रोक्ने गरिन्छ।
यस्तै, नेपाली किसानहरूले बिउ बिजन र मल ल्याउदासमेत सशस्त्र प्रहरी र नेपाल प्रहरीले अवैध सामान ल्याएको भन्दै नियन्त्रणमा लिने गरेका छन्। तर, गृहमन्त्री लेखकले सिमा क्षेत्रमा सुरक्षा निकायबाट हुने अवरोध हटाउन मातहतका अधिकारीलाई आवश्यक निर्देशन दिने बताएका छन्। उनले सुरक्षा निकायले सिमा क्षेत्रमा समस्या गर्ने गुनासो आएको र यसबारे सुरक्षा अधिकारीसँग कुराकानी गर्ने बताए।
करिब पाँच सय मिटरमा पाँच ठाउँमा चेकजाँच
गौरीफन्टा नाकादेखि कैलाली भन्सार पार गर्दासम्म सर्वसाधारणले पाँच ठाउँमा भन्सार सुरक्षा चेकजाँच गराउनुपर्छ। मोहना पुल पारि सुरुमा सशस्त्र प्रहरी, त्यसपछि कञ्चनपुरको नेपाल प्रहरी त्यसपछि मोहना पुलमा ट्राफिक प्रहरी, कैलाली भन्सार गेटमा सशस्त्र प्रहरी र भन्सार कार्यालयको क्षेत्र कटेपछि फेरि सशस्त्र प्रहरीले चेकजाँच गर्ने गरेका छन्।