सुप विश्वविद्यालयले वितरण गरेको सम्बन्धनका विषयमा आयोगको चासो
धनगढीः सुदूरपश्चिम विश्वविद्यालयले भर्खरै वितरण गरेको सम्बन्धनका विषयमा विश्वविद्यालय अनुदान आयोगले चासो देखाएको छ।
विश्वविद्यालय अनुदान आयोगले सुप विश्वविद्यालयले साउन १८ गते गरेको निर्णयमा चासो देखाएको हो। अनुदान आयोगले सुदूरपश्चिम विश्वविद्यालयलाई भदौ १९ गते पत्र पठाउँदै सम्बन्धनका विषयमा पूर्ण विवरण उपलब्ध गराउन भनेको छ।
विश्वविद्यालय अनुदान आयोगले सुदूरपश्चिम विश्वविद्यालयलाई सम्बन्धन प्रदान गरिएका उच्च शैक्षिक संस्थाहरूको नामावली, सम्बन्धन दिएको शैक्षिक कार्यक्रम, विषय र तह, सम्बन्धनका लागि सम्भाव्यता अध्ययनको मिति, सम्बन्धन शुल्क र धरौटी रकम, सम्बन्धन प्रदान गरिएको आधिकारिक निर्णय र सम्बन्धनका लागि प्रकाशित सूचना उपलब्ध गराउन पत्र काटेको हो।
सुदूरपश्चिम विश्वविद्यालयले साउन १८ मा सुदूरपश्चिम बाहिरका कलेजहरूलाई मात्रै सम्बन्धन दिने निर्णय गरेको थियो। विश्वविद्यालयले बाँकेका पाँच, काठमाडौंका चार, सुर्खेत, चितवन र ललितपुरका ३÷३, पर्सा, भक्तपुर, सिराहा र कास्कीका समान २÷२ कलेज तथा बर्दिया, दाङ, कपिलवस्तु, नवलपरासी,धनुषा र महोत्तरीका एक÷एक कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो।
विश्वविद्यालयले प्रस्ताव आह्वान गर्दा कुनै क्षेत्र वा प्रदेश तोकेको थिएन। तर, सुदूरपश्चिमका सामुदायिक तथा निजी कलेजको प्रस्तावलाई खारेज गर्दै विश्वविद्यालयले सुदूरपश्चिम बाहिरका ३२ कलेजलाई सम्बन्धन दिएको थियो। सम्बन्धनका लागि प्रस्ताव पेश गर्दा सुदूरपश्चिमका कलेजहरूको लाखौ रुपैयाँ खर्च भइसकेको छ।