सेती अस्पतालको एक शय्यामा तीन बिरामी
धनगढीः सुदूरपश्चिम प्रदेशको रेफरल सेती प्रादेशिक अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ। सेती अस्पतालको आकस्मिक कक्षको एक शय्यामा तीन जनासम्म बिरामी राखेर उपचार गरिदैछ। अस्पतालको आकस्मिक कक्षमा शय्या अभावका कारण तीन बिरामी एक शय्यामा राख्नु परेको हो।
अस्पतालमा शय्या अभावका कारण बिरामी निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता रहेको अंकुश कुँवरले बताए। उनले सेती अस्पतालमा बिरामीको चाँप बढेकाले उपचारमा समस्या रहेको बताए। उनले भने, ‘छोराको उपचारका लागि सेती अस्पताल आएको हो। तीन जनालाई एक बेडमा राखिएको छ। अहिले बिरामीको सङ्ख्या कम भयो, दुई जना राखिएको छ।’
सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा बिरामीहरूको सङ्ख्या बढ्दै गएपछि सेवा पाउनै मुस्किल हुन थालेको हो। पछिल्लो समय अस्पतालमा भाइरल ज्वरो, मौसमी रोगहरू, मलेरिया, टाइफाइड, अन्य मौसमी रोगहरुका कारण अस्पतालमा बिरामीको सङ्ख्या धेरै रहेको हो। सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. शेरबहादुर कमरले श्रावण, भदौ र असोजमा बिरामीको सङ्ख्या धेरै हुने गरेको बताए। उनले भने, ‘मौसमी जरो बढी हुन्छ, यो समयमा। बिरामीको सङ्ख्या अहिले धेरै छ। आकस्मिक कक्षमा ठाउँ सानो छ। बिरामी धेरै भएपछि तीन जना पनि राख्नु पर्ने छ।’ सेतीमा नेपाल सरकारको ५० र ७५ अस्पताल विकास समितिको गरेर १२५ शय्या मात्र स्वीकृत रहेको छ। तर, सेती प्रादेशिक अस्पतालमा ३१० शय्यासम्म सञ्चालनमा रहेका कमरले बताए। उनले भने, ‘१२५ हो स्वीकृत। बिरामीको सङ्ख्या धेरै छ। बिरामी फर्काउन भएन। अहिले ३१० सम्म बिरामी छन्।’
सेती प्रादेशिक अस्पतालमा हाल दैनिक एक हजार बढी बिरामीहरूले ओपीडी सेवा लिने गरेका हुन्। अन्य समयमा बढीमा आठ सय बिरामीहरूले ओपिडी सेवा लिनेगरेकामा श्रावण महिनापछि बिरामीको सङ्ख्या बढेको हो। अस्पतालको आकस्मिक कक्षमा मात्र हाल दैनिक दुई सय बढी बिरामी उपचारका लागि आउने गरेका छन्। अन्य समयमा १५० को हाराहारीमा बिरामीहरू आकस्मिक कक्षमा उपचारका लागि आउने गरेका अस्पताल प्रशासनले बताएको छ।
धनगढीमा वि.स १९९७ सालमा कैलाली जिल्ला अस्पतालका रूपमा सेती अस्पताल स्थापना भएको थियो। २०४० सालमा अञ्चल अस्पतालमा स्तरोन्नति गरिएको थियो। यही अस्पताललाई सङ्घीयता कार्यान्वयनपछि प्रादेशिक अस्पताल भनिएको छ। तर, सेती प्रादेशिक अस्पतालमा जनशक्ति र शय्याहरू थप भएका छैनन्। उपकरण र सेवा विस्तारमा मात्र सुदूरपश्चिम प्रदेश सरकार केन्द्रीत रहेको छ। ४१ वर्षदेखि अस्पतालमा शय्या र जनशक्तिको अभाव भएपनि अस्पताल प्रशासनलेसमेत बेवास्ता गरेको छ। सेती प्रादेशिक अस्पतालबाट कैलाली र कञ्चनपुरसहित सात पहाडी जिल्लाका बिरामीहरूलेसमेत उपचार सेवा लिने गरेका छन्।