गौरीगंगामा कालोपत्रको २५ दिनमै भत्किएको सडक निर्माण कम्पनीले मर्मत गर्ने
धनगढी : कैलालीको गौरीगंगा नगरपालिका–६ रानीफाँटामा १६ सय मिटर सडक कालोपत्रका लागि पूर्वाधार विकास कार्यालय, कैलालीले २ करोडको स्टीमेट बनायो। पूर्वाधार विकास कार्यालय, कैलाली र जी एण्ड जे निर्माण सेवाबिच २०७८ सालमा रानीफाँटाको सडक कालोपत्रका लागि सम्झौता भयो। दानबहादुर साउँद सञ्चालक रहेको सो निर्माण सेवाले ९३ लाखमा १६ सय मिटर सडक कालोपत्रका लागि सम्झौता गरेको हो। तर निर्माण कम्पनीले सम्झौता अवधिभित्र का गर्न सकेन। दोस्रो निर्माण कम्पनीमार्फत २०८१ असार १२ गते रानीफाँटाको सडक कालोपत्रको काम पूरा भयो।
तर, कालोपत्रको २५ दिनमा नै बाढीले सडक बगाएपछि मर्मतका लागि पत्राचार गरिएको हो। पूर्वाधार कार्यालय, कैलालीका प्रमुख रामचन्द्र खत्रीले निर्माण कम्पनीले नै कालोपत्र सडक मर्मत गर्ने बताए। उनले भने, ‘निर्माण कम्पनीले बनाउछ। हामीले पत्र पठाएका छौ। अहिले पानीले काम भएको छैन।’
कालोपत्र गरिएको सडक २५ दिनमै बाढीले बगाएपछि निर्माण कम्पनीलाई मर्मत गर्न भनिएको हो। गौरीगंगा नगरपालिका–६ रानीफाँटामा कालोपत्र गरिएको १६ सय मिटर सडक धेरै ठाउँमा बगाएको छ भने केही क्षेत्रको कालोपत्र भत्किएको छ। बाढीले सडकसँगै खानेपानी आयोजनाको पर्खाल, स्थानीयका खेत तथा घरको अन्नमासमेत क्षति पुगाएको छ। रानीफाँटामा रहेको खानेपानीको आयोजनादेखि दक्षिण पूर्वी क्षेत्रको सडकमा बाढीले ठुलो क्षति पुगाएको छ। स्थानीय महेश्वरी खड्काले सडक, घर–खेत तथा खानेपानीमा क्षति भएको बताइन।
नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनदेखि १६ सय मिटर सडक प्रदेश सरकारमार्फत निर्माण कम्पनीले तीन वर्षपछि कालोपत्र गरेको थियो। सडक कालोपत्र गरिएको २५ दिनमै बगाएपछि स्थानीय निराश बनेका छन्। पूर्वाधार विकास कार्यालयले भने निर्माण कम्पनीबाटै कालोपत्र सडक मर्मत गराउने भन्दै पत्राचार गरेको हो। सडक निर्माणको एक वर्षसम्म सडक मर्मत सुधारको जिम्मा निर्माण कम्पनीकै हुन्छ। पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख खत्रीले एक वर्ष मर्मतको समय रहने बताए। गौरीगंगामा अलपत्र परेको सडक लामो समयपछि कालोपत्र गरिएको थियो। तर, कालोपत्र गरेको २५ दिनमा नै बाढीले बगाएको हो।