मापदण्ड मिचेर भन्सारका प्रमुखसहित अर्थका १९ उपसचिवको अर्थ मन्त्रालयले गर्यो सरुवा
काठमाडौँः अर्थ मन्त्रालयले ११ जना भन्सार प्रमुखसहित १९ जना उपसचिवको सरुवा गरेको छ। सोमवार मन्त्रीस्तरीय निर्णयअनुसार आन्तरिक राजस्व कार्यालयहरू र भन्सार कार्यालयका प्रमुखसमेतको सरूवा भएको हो।
अर्थले एक साताअघि मात्रै भन्सार, राजस्व र करका ५८ जना उपसचिवको सरुवा गरेको थियो। अर्थले एक सातामा ७७ जना उपसचिवको सरुवा गरेको छ। राजस्व समूहको उपसचिवको सरुवा विशेष परिस्थितिबाहेक दुई वर्षको अवधि एउटै कार्यालयमा काम गरेपछि मात्र गर्ने चलन छ। तर सोमवारको सरुवामा मन्त्रालयले व्यक्तिको छनौट अनुसार दोहोरो मापदण्ड लागू गरेर सरुवा गरेको छ।
राजस्व समुहको उपसचिवको सरुवामा सामान्यतया भन्सार वा राजस्वमा दुई वर्ष प्रमुख भएकाहरुलाई अर्थ मन्त्रालय, विभाग वा काम कम भएका कार्यालयमा सरुवा गर्ने चलन भएपनि त्यसको बेवास्ता गरेर मापदण्ड मिचेर सरुवा भएको हो।
कसैलाई आन्तरिक राजस्व कार्यालयबाट भन्सार पठाइएको छ भने कसैलाई एउटा भन्सार प्रमुखबाट अर्को भन्सार प्रमुख नै बनाएर सरुवा गरिएको छ। भैरहवामा मेची भन्सार प्रमुख रहेका रामप्रसाद रेग्मीलाई पठाइएको छ। गौतमलाई भने भन्सार जाँच पास परीक्षण कार्यालय(पीसीए) त्रिपुरेश्वर सरुवा गरिएको छ।
मेची भन्सार प्रमुखमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट राजेन्द्र प्रसाद चुँडाल, नेपालगन्ज भन्सार प्रमुख ध्रुबराज विश्वकर्मा लाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, कृष्णनगर भन्सार प्रमुख मानबहादुर पौडेललाई जनकपुर भन्सार पठाइएको छ। कृष्णनगर र जलेश्वरमा क्रमशः फणिन्द्र खतिवडा र राजेन्द्र बस्नेतलाई पठाइएको छ। उनीहरुलाई अवधि नै नपुगी सरुवा गर्नुको कारण भने खुलाइएको छैन।
नेपालगन्ज भन्सारमा जनार्दन पौडेल, रसुवा भन्सार प्रमुख रामप्रसाद पाठकलाई वीरगञ्ज भन्सारमा सरुवा गरिएको छ। आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख तुलसी भट्टराईलाई रसुवा भन्सार कार्यालय, तातोपानीमा यस साता अघि नै कमल कुमार भट्टराईलाई पठाइसकिएको छ।
उपसचिव उषा पोखरेललाई चोभार सुख्खाबन्दरगाह भन्सार कार्यालय र अनन्त प्रसाद तम्सिनालाई कैलाली भन्सार कार्यालय पठाइएको छ। आन्तरिक राजस्व कार्यालय हेटौंडामा युक्ति प्रसाद सुवेदी र जोरपाटी आन्तरिक राजस्वमा दिलिप केसीलाई पठाइएको छ। त्यस्तै आन्तरिक राजस्व कार्यालय दमौलीमा लाल बहादुर खत्रीलाई सरुवा गरिएको छ। आन्तरिक राजस्व कार्यालय कृष्णनगर र जनकपुरमा सुजित कुमार सिंह र आनन्द कुमार गुप्तालाई पठाइएको छ।