सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र डोटीको सिमाना भएर बग्ने ठुलीगाडमा माछाको भुरा नै सखाप पारिँदै

२०८१ भदौ १९, ०१:०४ कमल सावद

धनगढीः कैलालीको चुरे, मोहन्याल गाउपालिका र डोटीको जोरायल र बडीकेदार गाउपालिकाले ठुलीगाडमा माछा मार्न प्रतिवन्ध लगाइएको छ।

ठुलीगाडमा जालबाहेक करेन्ट र विष हालेर माछा मार्ने नपाइने गरी मापदण्ड नै बनाइएको छ। मनोमानी रुपमा माछा मार्ने काम भइरहेको छ। मापदण्ड विपरीत माछा नमार्न गाउपालिकाहरूले सूचना जारी गरेको भएपनि माछा मार्ने काम रोकिएको छैन्।

चुरे गाउपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले चुरे क्षेत्रमा मात्र ठुलीगाड ५० किलोमिटर बढी लामो भएकाले माछाको सुरक्षा गर्न समस्या भइरहेको बताए। उनले भने, ‘ठुलीगाडको बढी भाग हाम्रो पर्छ। जोरायल र हामीले संयुक्त बैठक गरेका थियौ। तर, माछा मार्ने क्रम रोकिएको छैन्। साथै माछाको बासस्थान पनि पहिरोले पुरिएको छ।’

डोटीको जोरायल क्षेत्रबाट सुरु भएको ठुलीगाड कर्णाली नदीमा मिसिने गरेको छ। बर्सातको समयमा कर्णालीको माछा ठुलीगाड प्रवेश गर्ने गरेको छ। तर, ठुलीगाडमा माछाले भुरा उत्पादन गर्न भने पाएका छैनन्। माछाको प्रजनन् समयमा समेत ठुलीगाडका माछा मार्ने गरिएको छ। विशेष गरेर रातिको समयमा माछा मार्ने गरिएको छ।

बोगटीले भने, ‘हामीले सूचना गरेका छौ। तर, रातिको समयमा समेत जान्छन। रोक्ने प्रयास गरेका हौ। तर, ५० किलोमिटर बढी हाम्रो क्षेत्रमा खोला छ।’ माछाको संरक्षण र माछाको संख्या वृद्विका लागि पालिकाहरुले पटक–पटक छलफल गर्दै आएका छन्। तर, ठुलीगाडमा मनोमानी रुपमा माछा मार्ने क्रम रोकिएको छैन्।

स्थानीयले मार्ने माछाको तौल तथा उमेर कुनै पनि विषयमा ख्याल गर्ने गरिएको छैन। जोरायल गाउपालिकाका अध्यक्षले विषादी र करेन्ट लगाउन प्रतिबन्ध गरिएको बताए। उनले भने, आँसला, सट्टे, कन्गा, सट्टे लगायत माछाहरु जोरायल क्षेत्रमा पाउने गरेको बताए।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस