कहिले आउँछ सुदूरपश्चिम प्रदेशको बजेट?
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बजेट अझै आउन सकेको छैन्।
चालु आर्थिक वर्ष सुरु भएको २ महिना पुग्नै लाग्दा समेत बजेट ल्याउन प्रदेश सरकार सफल बन्न सकेको छैन्। तत्कालिन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले प्रदेश सभामा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेको भए पनि समयमा पास नहुँदा यतिबेला प्रदेश सरकार र मातहतका निकायले विविध समस्याको सामना गर्नुपरिरहेको छ।
बजेटको टुंगो नहुँदा उधारोमा काम चलाइरहेका प्रदेश सरकारका कार्यालयहरू समेत यतिबेला अन्योलमा छन्। बजेट विहिनताले कर्मचारीलगायतले तलब पाउन समेत सकेका छैनन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सुदूरपश्चिममा हाल एक हजार ६३८ जना स्थायी दरबन्दीका कर्मचारी छन्। अस्थायी, करार र परामर्श सेवाका गरी करिब ५ सयभन्दा बढी थप कर्मचारी छन्।
तर तलब रोकिँदा तल्लो तहका कर्मचारी समस्यामा परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी जगदीश जोशीले बताए। सरकारले सुरुमा भदौ पहिलो साताभित्र बजेट ल्याउने भनेको थियो। पहिलो साता बितेपछि मुख्यमन्त्री कमलबहादुर शाहले भदौको दोस्रो साताभित्र बजेट ल्याइसक्ने बताएका थिए।
तर अहिलेसम्म बजेट आउन सकेको छैन्। बजेट शून्यताका कारण प्रदेश सरकार उधारोमा चलेको छ। दैनिक प्रशासनिक खर्च पनि उधारोमै चलाउनु परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदलाई दुई करोडको भाग लगाएर योजनाको सिफारिस संकलन गरेको छ। ५३ सदस्यीय प्रदेश सभामा ३२ जना प्रत्यक्ष र २१ जना समानुपातिक सांसद छन्।
सुदूरपश्चिममा हाल कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ। एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेतृत्वमा रहेको अघिल्लो सरकारले चालु आर्थिक वर्षका लागि असार १ गते ३१ अर्ब ६२ करोडको बजेट पेस गरेको थियो। तर त्यसबेलाको सत्ता साझेदार दल एमाले सरकारबाट बाहिरिएपछि बजेट पारित हुन सकेको थिएन। सोडारीले साउन १८ मा पदबाट राजीनामा दिएका थिए। साउन २१ मा एमाले र नागरिक उन्मुक्तिको साझेदारीमा कांग्रेसका शाह नेतृत्वको नयाँ सरकार गठन भएपछि पनि बजेटको अन्योल भने हटेको छैन।