सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा आवश्यकता अनुसार बजेट विनीयोजन नहुँदा वषौँदेखि सयौँ खानेपानी योजना अलपत्र

२०७६ जेठ ३२, ०९:५६ जनक विष्ट

कैलालीमा आवश्यकता अनुसार बजेट विनीयोजन नगरिदा डेढ सय बढि खानेपानी योजनाको काम वषौँदेखि कछुवा गतिमा रहेको छ। जिल्लाका आम नागरिक सहज खानेपानीको पहुँच बाहिर रहेका बेला न्युन बजेट विनीयोजन गरिदा योजना निर्माणको कामले तिव्रता पाउन सकेको छैन्। करोडौँको लागत निर्धारण गरी वर्षेनी न्युन बजेट विनीयोजन गरिदा कैलालीमा कार्यान्वयन भइरहेका एक सय ६५ योजनाको कामले गति लिन नसकेको हो।  

जिल्लाको धनगढी उपमहानगरपालिकाको फुलबारीमा निर्माणाधिन अवस्थामा रहेको फुलबारी डिपो खानेपानी योजनाको निर्माण सुरु भएको ८ वर्ष पूरा भएको छ। १४ करोड  ६७ लाख लागत अनुमान निर्धारण गरेर आर्थिक वर्ष २०६८ ÷६९ मा निर्माण सुरु भएको उक्त योजनाको भौतिक प्रगती आधा पनि हुन सकेको छैन्।

८ वर्षको अवधीमा डिपो खानेपानी योजनाले ५ करोड ९० लाख बराबरको मात्र काम गर्न सकेको छ। फुलबारीका स्थानीय मान बहादुर विष्टले योजना ठुलो भएपनि सरकारले  वर्षेनी न्युन बजेट छुट्याउदा वषौँदेखिको सहज रुपमा खानेपानी उपभोग गर्न पाउने आशा आशामै सीमित रहेको बताए। उनले बजेट नभएकै कारण खानेपानी योजनाको निर्माणलाई त्रिवता दिन नसकिएको बताए।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ मा निर्माणाधिन अवस्थामा रहेको समैजी खानेपानीको काम पनि कछुवा गतिमै रहेको छ। साढे ६ करोड लागत निर्धारण गरी आर्थिक वर्ष २०७३–७४ देखि निर्माण सुरु भएको उक्त योजनामा तीन वर्षको अवधीमा एक करोड ११ लाख बजेट खर्च भएको छ।

डिप ट्युवेलको पानी उपभोग गर्दै आएका उक्त क्षेत्रका स्थानीयले पनि सहज रुपमा खानेपानी उपभोग गर्न पाउने प्रतिक्षामै वषौँ बित्ने देखिएको छ। समैजी खानेपानी उपभोक्ता समितिका अध्यक्ष शेर बहादुर बोगटीले बजेट अभावका कारण निर्माणलाई तिव्रता दिन नसकिएको बताए।

समैजी र फुलबारी डिपो खानेपानी योजना उदाहरण मात्र भएपनि कैलालीमा करोडौँ लागत निर्धारण गरी वर्षेनी न्युन बजेट छुट्याएर निर्माणलाई कछुवा गति दिएका एक सय ६५ वटा योजना रहेका छन्। कैलालीको ओलानी क्षेत्रमा वषौँदेखि निर्माणाधिन अवस्थामा रहेका योजनाको काम पनि कछुवा गतिमा रहेकै कारण स्थानीय डिप ट्युवेलको पानी सुक्दा गर्मी मौसममा समस्या भोग्दै आएका छन भने विद्युत सेवा अवरुद्ध भए त उनीहरु खानेपानीबाट पूर्ण रुपमा वञ्चित हुदै आएका छन्।

डिभिजन खानेपानी कार्यालय कैलालीले पनि योजना संख्या धेरै र बजेट न्युन विनीयोजन हुदै आएका कारण कार्यान्वयनमा समस्या भएको डिभिजन खानेपानी कार्यालय कैलालीका डिभिजन प्रमुख मोहन कुँवरले बताए। स्थानीय स्तरको आवश्यकता भन्दा पनि पहुँचे विकासको परिपाटीका कारण खानेपानीमा पनि कनिका छरे जस्तै योजना छनौट भएपछि कार्यान्वयनमा जटिलता थपिएको हो।

सबै क्षेत्रमा एकै पटक योजना पारी कार्यान्वयन गर्न खोजिएपनि सोही अनुसारको बजेट विनीयोजन नहुँदा निर्माणमा ढिलासुस्ती भइरहेको छ। जसले खानेपानीको टडकारो आवश्यकता भएका ठाउँका नागरिक पनि वर्षाैँ सम्म योजनाले पूर्णता पाउने आशा लिएर बसेका छन्। अर्कोतीर बजेट अभावले कार्यान्वयनमा भएको ढिलाईले वर्षेनी  योजनाको लागत समेत बृद्धि हुदै गएको डिभिजन खानेपानी कार्यालय कैलालीका इन्जिनीयर गणेश उपाध्यायले जनाए।

खानेपानी योजना निर्माणमा भएको ढिलाईको मारमा सबैभन्दा बढि जिल्लाको विकट क्षेत्रमा नागरिक परेका छन्। त्यसमा पनि हाते पप्पको पानीको उपलब्धता पनि नभएका स्थानीय बढि समस्यामा परेका छन्।  विगतमा संघिय सरकारले कार्यान्वयन गरिरहेका खानेपानी योजनाहरु प्रदेश सरकार मातहत आइसकेका छन्। प्रदेश सरकार अहिले अगामी वर्षको बजेट तर्जुमाको तयारी पनि गरिरहेकाले बजेट अभावमा कार्यान्वयन गर्नमा ढिलाई भएका योजनामा आवश्यक बजेट विनीयोजन गरी काम गर्नुपर्ने सुझाव दिईएको छ।  

 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस