सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसरी गुम्यो टीकापुरकी लक्ष्मीको ‘श्रीसम्पत्ति’, महिनाकै एक लाख व्याज!

२०८१ भदौ १७, ०७:२४ नारायण अवस्थी

धनगढीः कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर ११ की लक्ष्मी शाहले मिटर व्याजीको फन्दामा परेर सबै सम्पत्ति गुमाएकी छन्।

२०७३ साल मंसिरमा टीकापुरकै सोनु रेग्मीसँग मासिक २० प्रतिशत व्याजमा लिएको रकम नै लक्ष्मीको परिवारलाई सडकमा ल्याउने कारण बनेको हो। रेग्मीले शाहलाई पाँच लाख ऋण दिँदा एक महिनाकै एक लाख व्याज आफैसँग राखेर चार लाख मात्रै दिएकी थिइन्। हिसाबमा भने शाहले ५ लाख ऋण लिएको देखाइएको थियो।

शाहले नियमित व्याज दिन नसकेपछि रेग्मीले तीन महिनापछि शाहले ७ लाख ७५ हजार ऋण लिएको कागज बनाइन्। त्यसपछि मिटरव्याजी सोनुले नन्द नाता पर्ने रिना धिताललाई ऋण तिर्नुपर्ने भएकाले लक्ष्मीबाट आउने रकमको साहु रितालाई बनाइन्। सोनुले वकिल मार्फत लक्ष्मीले तिर्नुपर्ने ७ लाख ७५ हजार रुपैयाँ रितालाई तिर्नुपर्ने कागज बनाएर आफ्नो आर्थिक शोषण गरेको लक्ष्मीको गुनासो छ।
सोनुले गरिन ऋण हस्तान्तरण 
सोनु रेग्मीले शाहबाट लिनुपर्ने रकम आफ्नै नन्द रिना धिताललाई तिर्नुपर्ने कागज वकिल मार्फत बनाउन लगाएकी हुन्। त्यसपछि शाहको साहु रिना धिताल भइन्। रिनालाई शाहले धनगढीमा रिनाकै आफन्तको घरमा एक पटक १ लाख ७५ हजार र त्यसपछि  पटकपटक गरी थप दुई लाखसहित ३ लाख ७५ हजार तिरेको बताएकी छन्।

तर,रिना धितालले लक्ष्मी शाहले आफूबाट ५० लाख ऋण लिएको प्रमाण तयार गरी आर्थिक लेनदेनमा फसाउने काम गरेको लक्ष्मीको दाबी छ। यता रिना धितालले भने आफ्नो सोनु र लक्ष्मीसँग अलग–अलग लेनदेन रहेकाले तथा अदालतबाट लक्ष्मी विरुद्धको मुद्दा जितेको बताएकी छिन्।

रिनाले अदालतबाटै किनारा लागेको विषयमा अनावश्यक तनाव नदिन चेतावनी दिएकी छन्। ‘मेरो सोनु रेग्मी र लक्ष्मी शाहसँग अलग–अलग लेनदेन हो। मैले सोनुबाट समेत २५ लाख लिनुपर्ने छ। लक्ष्मीले टीकापुरमा दुनियाँको पैसा खाएको छ। अहिले अदालतबाट टुङ्गो लागेको विषयमा कुराकानी गरेर तनाव दिने काम नगर्नुहोला’
महिनाकै एक लाख व्याज!
सोनु रेग्मीले मासिक २० प्रतिशत मिटर व्याजमा रकम लिने–दिने गर्ने गरेको शाहको दाबी छ। रिनाले समेत सोनुले आफ्नो २५ लाख नदिएर अदालतमा मुद्दा हाल्नु परेको बताएकी छन्। सोनुले  आफ्नै नन्द नाता पर्ने रिना धिताललाई रकम तिर्नुपर्ने भएपछि शाहले तिर्नुपर्ने ७ लाख ७५ हजार रिनुले उठाउने कागज तयार गरिएको हो।

महिनाको २० प्रतिशतका दरले ७ लाख ७५ हजारको एक लाख भन्दा बढी व्याज नै तिर्नुपर्ने अवस्थामा आफूलाई पुगाइएको लक्ष्मीले बताइन्। ३ लाख ७५ हजार तिरेको र बाँकी रकम तिर्छु भन्दाभन्दै रिनाले अदालतमा मुद्दा हालेर अहिले सबै सम्पत्ति गुमाउनुपरेको लक्ष्मीले बताइन्। ‘मैले ३ लाख ७५ हजार तिरी सकेकी थिए। एक लाख पैसा दिने बेलामै अग्रिम व्याज  लिएको हो।

तीन महिनासम्म व्याज दिन नसक्दा ४ लाखको ७ लाख ७५ हजार तिर्नुपर्ने कागज बनाइएको हो। तरपनि मैले पैसा तिर्दिन भनेकी थिएन’, उनले भनिन्, ‘एक्कासी अदालतबाट घर जग्गा रोक्का रहेको पत्र आएपछि रिनाले चेक अनादरको मुद्दा हालेको थाहा भयो।’
यसरी फसाइयो लक्ष्मीलाई
लक्ष्मी शाह टीकापुरमै कस्मेटिक र कपडाको पसल थियो। व्यापार गर्ने सिलसिला उनले सोनु रेग्मीसँग मिटरव्याजमा पैसा लिएको बताएकी छन्। २०७३ मै लक्ष्मीकी साथी रिता विकले सोनुबाट मिटरव्याजमा पाँच लाख ऋण लिँदा ग्यारेन्टीमा लक्ष्मीले सोनुलाई आफ्नो खाली चेक दिएकी थिइन्। रिता विकले सोनुलाई एक महिना भित्रै रकम चुक्ता गरे पनि लक्ष्मीलाई चेक फिर्ता गरिएन।

आफूलाई फिर्ता दिनुपर्ने खाली चेक सोनुले रिना धिताललाई दिएको लक्ष्मीको दाबी छ। त्यही साथीलाई सहयोग गर्न बन्दकी राख्न दिएको खाली चेक नै लक्ष्मीका अनुसार उनको उठीबास गराउने कारण बन्यो। ‘मेरो खाली चेकमा रिना धितालले ५० लाख रकम उल्लेख गरी अदालतमा मुद्दा दर्ता गरेको अदालतको पत्र आएपछि मात्रै थाहा थियो।

रिनासँग मेरो लेनदेन नै थिएन,“ उनले भनिन्’, ‘कैलाली जिल्ला अदालत, उच्च अदालत दिपायल र सर्वोच्च अदालतबाट समेत मुद्दा हारे मैले कतैबाट पनि न्याय पाएन।’ लक्ष्मीले अगाडि भनिन्, “यदि रिनाले मलाई ५० लाख दिएको भए उसले पैसा दिएको बैंक स्टेटमेन्ट जाँच हुनुपर्ने, मैले खर्च गरेको जाँच हुनुपर्ने र उसको आम्दानीको स्रोत खोजिनुपर्ने हो तर अदालतमा त्यो कुराको खोजी गरिएन। जसले गर्दा मैले हार्नु प¥यो। लक्ष्मीले मुद्दा लड्दा लड्दै हृदयघात भएर आफ्नो पतिको २०७८ साल बैशाख २६ गते मृत्यु भएको बताएकी छन् भने मुद्दा लड्न खर्चको जोहो गर्न धनसिंहपुरको दस कट्ठा जग्गा समेत बिक्री गर्नुपरेको दुखेसो पोखेकी छन्।
५ लाखको पासोले पूरै ज्यायजेथा गुम्यो
पाँच लाख ऋण लिएर आधा तिरेको अवस्थामा आफ्नै कमजोरीको फाइदा उठाउँदै खाली चेकमा ५० लाख रकम उल्लेख गरेर रिना धितालले आफूलाइओ आर्थिक लेनदेन तथा चेक अनादर मुद्दा लगाएको लक्ष्मीको भनाइ छ। रिनासँग मुद्दा हार्दा लक्ष्मीले टीकापुरमा दुई कट्ठा जग्गामा बनेको ७ कोठाको डेढ तले घर गुमाउनु परेको  छ।

सर्वोच्च अदालतबाट समेत मुद्दा जितेर रिना धितालले २०८० कात्तिक २१ गते घर जग्गा आफ्नो नाममा रजिष्ट्रेसन गरेको लक्ष्मीले बताइन्। ‘रिनाबाट माग्दै नमागेको ५० लाख तिर्नुपर्ने कानुनी फन्दामा परेर सम्पत्ति पनि गयो मान्छेको ज्यान पनि गयाो’, उनले भनिन्, ‘उच्च अदालत दिपायलमा मेरा चार छोराछोरीले अंश मुद्दा जितेकामा सो समेत बदर गरियो र कही कतैबाट न्याय  मिलेन।’
कैलाली जिल्लामा मिटरव्याजीको बिगबिगी कायमै
कैलाली जिल्लामा मिटरव्याजीको चङ्गुलमा परे उम्किनै नसकिने अवस्थामा धेरै जना पुगेको जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भएका मिटरव्याजी पीडितका निवेदनले समेत पुष्टि गरेको छ। प्रशासनमा ४४६ निवेदन दर्ता भएका छन्। टीकापुर, लम्की, अत्तरिया मात्रै नभएर ग्रामीण क्षेत्रमा समेत मिटरव्याजमा पैसा लगाएर सर्वसाधारणलाई श्रीसम्पत्ति बिहिन बनाउने उपक्रम जारी रहेको पीडितहरूको गुनासो छ। मिटरव्याजीहरूले राजनीतिक तथा प्रशासनिक आड र भरोसा पाउँदा पीडितले अदालतबाट समेत न्याय नपाएको गुनासो गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस