सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको जोशीपुरमा जनप्रतिनिधिको सिफारिसमा स्थानीय कर्मचारीलाई योजना वितरण

२०७६ जेठ ३१, ०७:५० खबर संवाददाता

कैलालीको जोशीपुर गाउँपालिकाले आर्थिक वर्षको अन्तमा आएर कर्मचारीको नाममा योजना हालेर कार्यान्वयन गरिरहेको छ। गाउँपालिकाका जनप्रतिनिधीको सिफारिसमा वडा र गाउँपालिकाका स्थानीय कर्मचारीको नाममा योजना हालेर कार्यान्वयन गरी बजेटको दुरुपयोग भइरहेको पाईएको हो।

गाउँपालिकाले वडा नम्बर ६ का अध्यक्ष नत्थु प्रसाद डगौराको सिफारिसमा स्थानीय समेत रहेका कार्यालय सहयोगी विश्वेश्वर प्रसाद चौधरीका नाममा एक लाख ९ हजारको सडक ग्राभेलको योजना पारी भुक्तानी दिईएको पाईएको छ। गाउँपालिकाले वडा नम्बर ६ को गोपालको घरदेखि पश्चिम ताल आईतबारी लालको घर सम्मको बाटोमा ग्राभेल गर्ने भन्दै कार्यालय सहयोगी चौधरीको नाममा काम नगरी ६२ हजार ८ सय भुक्तानी दिएको छ।

तर उक्त स्थानमा ग्राभेल समेत नभएको स्थानीयले बताएका छन्। पूर्वाधार विकासका कुनै पनि योजना उपभोक्ता समिति वा ठेक्का सम्झौता मार्फत कार्यान्वयन गरिनुपर्ने भएपनि जोशीपुर गाउँपालिकाले व्यक्तिलाई रकम वितरण गरिरहेको हो। तर कार्यालय सहयोगी विश्वेश्वर चौधरीले भने वडा कार्यालयबाट आफूले कुनैपनि योजना नमागेको दावी गरेका छन्। 

उनले वडाअध्यक्षलाई योजना माग गरी निवेदन पनि नदिएको जिकिर गर्दै आफूलाई झुक्याएर अरुले वदमासी गरेको हुनसक्ने बताए। यता वडा अध्यक्ष नत्थु प्रसाद डगौराले भने वडा कार्यालयबाट उपभोक्ता समिति गठन गरी सिफारिस गरिएको भएपनि गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर विष्टले कार्यालय सहयोगी चौधरीको नाममा रकम निकासा गर्न फरक नपर्ने  भनेको आरोप लगाए। उनले प्रमुख प्रशासकिय अधिकृतकै सल्लाह अनुसार आफूले कार्यालय सहयोगीको नाम सिफारिस गरेको समेत दावी गरे।

कमेन्ट लोड गर्नुस