सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममै पहिलो पटक धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण हुने

फाइल फोटो
फाइल फोटो
२०८१ भदौ १४, ०७:०२ कमल सावद

धनगढीः सुदूरपश्चिममै पहिलो पटक कैलालीको धनगढीमा फुलबल प्रशिक्षण केन्द्र निर्माण हुने भएको छ।

सुदूरपश्चिम खेलकुद परिषद्, धनगढी उपमहानगरपालिकाको समन्वय र अखिल नेपाल फुटबल संघ (एनफा)को स्वीकृतिमा धनगढीस्थित फूलबारीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण हुने भएको छ। फुटबल खेलको विकासका लागि प्राविधिक, खेल विकासका कार्यक्रम र भौतिक पूर्वाधार निर्माणका स–साना कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन्।

कैलाली जिल्ला फुटबल संघले प्राविधिक उत्पादन र स्तरोन्नतीका कामहरु गर्दै आएको छ। पहिलो पटक अखिल नेपाल फुटबल संघ (एनफा)ले फुटबल प्रशिक्षण केन्द्र निर्माणका लागि बजेट विनियोजन गरेको छ। कैलाली जिल्ला फुटबल संघका महासचिव ललित मिश्रले धनगढी उपमहानगरपालिका–१४ डिपोबजार क्षेत्रमा प्रशिक्षण केन्द्र निर्माण गरिने बताए। उनले भने, ‘फूलबारीको डिपो बजारको जग्गामा बनाउने हो। त्यो उपमहानगरपालिकाको जग्गा हो।

एनफाको टिम आएर हेरिसकेको छ। वडा र धनगढी उपमहानगरपालिकाको सहयोग भयो भने त्यही हुने हो।’ धनगढी उपमहानगरपालिकाको नाममा रहेको पाँच बिघा क्षेत्रफलमा फुटबल प्रशिक्षण केन्द्र निर्माणको तयारीमा एनफा छ।
कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न एक करोड ३४ लाख ३३ हजार बजेट विनियोजन गरिएको छ।

अखिल नेपाल फुटबल संघको २०८१ भदौ ११ र १३ गतेको बैठकले कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको हो। सुदूरपश्चिममै पहिलो पटक कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न बजेट विनियोजन गरिएको छ। मिश्रले भने, ‘यो प्रशिक्षण केन्द्र हो। लगानी बढी नै हुन्छ। अहिले प्राम्भिक चरणको मात्र हो, एक करोड ३३ लाख। टेक्नीकल सेन्टर बनाउन १५ देखि २० करोडको बिचमा लाग्छ होला।

आगामी दिनहरुमा पाँच वर्षका लागि आइरहने बजेट हो। पाँच वर्षमा निर्माणको काम पूरा हुन्छ। एनफाले १५ वर्ष प्रयोग गरेर धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्छ।’ सुदूरपश्चिम प्रदेशबाट फुटबलका खेलाडी तथा प्रशिक्षक उत्पादन गर्न केन्द्र निर्माण गर्ने योजनामा एनफाको छ।

कैलालीमा निर्माण गरिने प्रशिक्षण केन्द्रले सुदूरपश्चिम प्रदेशका खेलाडीहरुलाई सहज हुने अपेक्षा गरिएको छ। नयाँ खेलाडी उन्पादनमा केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने तर्क कैलाली जिल्ला फुटबल संघको छ। संघका महासचिव मिश्रले सुरुमा विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार गरिने बताए। उनले भने, ‘अहिले डिपीआर निर्माणको काम सुरु हुन्छ।’
आवाससहितको प्रशिक्षण सेवा
धनगढीमा निर्माण हुने फुटबल प्रशिक्षण केन्द्रमा खेलाडीहरुलाई आवससहितको सेवा दिइने छ। संघका महासचिव मिश्रले खाना र बस्नको सुविधासहितको केन्द्र निर्माण हुने बताए। हेटौडा, धरान, बुटवलमा पहिलैबाट प्रशिक्षण केन्द्र रहेको बताए। सुदूरपश्चिमका १०÷१२ खेलाडीहरु प्रशिक्षण केन्द्रमा गएको बताए। उनले भने, ‘खेलाडीहरुलाई होस्टेलसहितको सुविधा हो। एक बिघामा पार्कको डिजाइन भएको छ। पाँच बिघा क्षेत्रफल उपलब्ध गराउने कुरा भएको छ।’
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस