सुदूर नेपाललाई विश्वसँग जोड्दै

रूसद्वारा करिब एक सय अमेरिकी नागरिकको प्रवेशमा प्रतिबन्ध

२०८१ भदौ १३, ०७:३५ खबर संवाददाता

एजेन्सिः रूसले दुई दर्जनभन्दा बढी पत्रकारसहित ९२ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको रूसी विदेश मन्त्रालयले बिहीवार घोषणा गरेको छ।

‘‘मस्कोलाई रणनीतिक पराजय गराउने’ घोषित लक्ष्यका साथ बाइडेन प्रशासनको ‘रूसोफोबिक’ नीतिको प्रतिक्रियामा प्रतिबन्ध लगाइएको हो,” रूसको  राष्ट्रिय समाचार संस्था तासले जनाएको छ। रूसले प्रतिबन्ध लगाएको अमेरिकी नागरिकको सूचीमा अमेरिकी सरकारका सदस्यहरू, प्रजातन्त्र समर्थक कार्यकर्ता, शिक्षाविद् र रूस–युक्रेन द्वन्द्वकाबिच युक्रेनलाई हतियार आपूर्ति गर्ने रक्षा अनुबन्ध फर्महरू र वित्तीय संस्थाहरूका नेताहरू समावेश रहेका छन्।

रूसी विदेश मन्त्रालयको विज्ञप्तिअनुसार यो प्रतिबन्धको सूचीमा वाल स्ट्रिट जर्नल, वासिङ्टन पोस्ट र न्युयोर्क टाइम्सका केही पत्रकारको नाम उल्लेख गरिएको छ। प्रतिबन्धित व्यक्तिहरूको सूचीमा ‘‘रूस र रूसी सेनाबारे वासिङ्टनले फैलाएको प्रोपागान्डाको बारेमा झुटो प्रसारमा संलग्न प्रमुख उदार–विश्वव्यापी प्रकाशनहरूका सम्पादकीय कर्मचारी र पत्रकारहरू समावेश छन्,” विदेश मन्त्रालयले भनेको छ।

सूचीबद्ध पत्रकारमध्ये वाल स्ट्रिट जर्नल (डब्लुएसजे) का प्रधान सम्पादक एमा टकर पनि रहेका छन्। सूचीमा रहेका डब्लुएसजेका अन्य १३ जना वर्तमान वा पूर्व कर्मचारीहरूमा सञ्चारमाध्यमका प्रमुख सम्पादक, विश्व समाचार विभागका प्रमुख, यसको किएभ ब्युरो प्रमुख, पूर्व मस्को ब्युरो प्रमुख र यसको सम्पादकीय बोर्डका सदस्य समावेश रहेका छन्।
 

कमेन्ट लोड गर्नुस