सुदूर नेपाललाई विश्वसँग जोड्दै

असई पन्त र ट्राफिक हवल्दार बमलाई कारबाही गर्न माग

२०८१ भदौ ९, ०८:४९ खबर संवाददाता

धनगढीः नेपाल पत्रकार महासंघ कैलालीले प्रहरी सहायक निरीक्षक रामदत्त पन्त र ट्राफिक हवल्दार बिजय बमलाई कारबाही गर्न माग गरेको छ।

आइतवार एक विज्ञप्ति जारी गदै महासंघले धनगढीका पत्रकार रमेश अयडीलाई सामान्य चेकजाँचमा हत्कडी लगाउने उनीहरुलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय कैलाली समक्ष माग गरेको हो। शुक्रवार राति धनगढी बजारमा ट्राफिक चेकिङका क्रममा पत्रकार अयडीलाई ट्राफिक प्रहरी बम र जिल्ला प्रहरी कार्यालयमा कार्यरत असई पन्तको कमाण्डमा रहेको टोलीले सामान्य चेकजाँचमा हत्कडी लगाएर पक्राउ गरि हिरासतमा लगेको थियो।

सो घटनाप्रति पत्रकार महासंघ कैलालीले घोर आपत्ति जनाएको छ। ‘यस घटनामा संलग्न असई पन्त र ट्राफिक हवल्दार बमलाई आवश्यक अनुसन्धान गरि कार्वाहीका लागि अनुरोध गर्दछौँ,’ महासंघका अध्यक्ष हिमालय जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

पत्रकार अयडीलाई सामान्य चेकजाँचका क्रममा हत्कडी लगाएर पक्राउ गरि हिरासतमा लगेपछि कैलाली प्रहरी पनि विवादमा तानिएको छ। पछिल्लो समय धनगढीमा ट्राफिक प्रहरीको काम सवारी आवतजावतलाई सहजीकरण गर्नु भन्दा पनि चेकिंङ र दण्ड दिने काम बढी भएको आरोप लागेको छ।

कमेन्ट लोड गर्नुस