सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आचार्य कृष्णबहादुरलाई सम्मान, समाज रुपान्तरणमा लाग्न आग्रह

२०८१ भदौ ८, ०६:१० नारायण अवस्थी

धनगढीः संस्कृत साहित्यमा आचार्य पास गरेका कृष्णबहादुर दमाईलाई सामाजिक रुपान्तरणमा लाग्न आग्रह गरिएको छ।

शनिवार धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रमका वक्ताहरूले दमाईले सनातन धर्मको रक्षा गर्न र सामाजिक विभेद अन्त्य गर्न अग्रणी भूमिका खेल्नुपर्ने बताएका हुन्। शिल्पी समुदायबाट संस्कृत साहित्यमा आचार्य गरेका कृष्णबहादुरलाई धनगढी उपमहानगरले सम्मानपत्र, मायाको चिनो र एक लाख ५१ हजार नगदसहित सम्मान गरेको हो।

आर्थिक समस्या खेपिरहेका आचार्य दमाईलाई उपमहानगरले आर्थिक सहयोगसँगै रोजगारी समेत दिने भएको छ। आचार्य दमाईले चाहेको बेला उपमहानगरले उनको योग्यता अनुसारको जागीर दिने भएको हो। यस्तै, समाज रुपान्तरण गर्न आचार्य दमाईले अगुवाई गर्नुपर्ने आग्रह गरिएको छ। सामाजिक रुपान्तरण र सनातन धर्मको रक्षाका लागि भेदभाव नगरी एकजुट भएर काम गर्नुपर्ने वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले बताए।

उनले आचार्य कृष्णबहादुरले संस्कृत शिक्षा अध्ययन गरेर विभेद उन्मुलन गर्दै समाजलाई सही दिशानिर्देश गर्न प्रेरित गर्न सक्नुपर्ने बताए। अध्यक्ष रिजालले सबैले आचार्य कृष्णबहादुर दमाईलाई सहयोग गर्नुपर्ने बताए। यस्तै, वडा नम्बर ४ का अध्यक्ष बुद्धिबहादुर खड्काले आचार्य कृष्णबहादुर दलित समुदायको मात्रै नभएर सम्पूर्ण सनातनीहरूका लागि उदाहरणीय व्यक्ति भएको बताए।

शनिवार एक कार्यक्रम राखेर धनगढी उपमहानगरपालिकाले संस्कृत साहित्यमा आचार्य पास गर्ने कृष्णबहादुर दमाईलाई सम्मान गरेको हो। बाजागाजासहित स्वागत गर्दै नगर सभा हलमा नगर प्रमुख हमाल, कार्यपालिका सदस्य र कर्मचारीहरूले कृष्णबहादुरको स्वागत गरेका हुन्। दमाईको आर्थिक अवस्था कमजोर भएकाले उपमहानगरपालिकाको तर्फबाट एक लाख ५१ हजार नगदसहित सम्मान गरिएको हो।

सम्मान समारोहमा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो। शिल्पी समुदायबाट संस्कृतमा उच्च शिक्षा हासिल गरेका दमाईले सामाजिक रुपान्तरणका लागि काम गर्नुपर्ने कार्यपालिका सदस्य चक्र नेपालीले बताए। उनले संस्कार र शिक्षाको अभावमा दलित समुदाय पछाडि परेको बताउँदै कृष्णबहादुरले आफूसँगै अरुलाई पनि संस्कार र कर्मकाण्ड सिकाउनुपर्ने बताए।
कृष्णबहादुरलाई पञ्चाङ्ग गणना गर्न सिकाउने 
शिल्पी समुदायबाट नेपाल संस्कृत विश्वविद्यालयबाट आचार्य पास गर्ने दमाईलाई वेद, उपनिषद्, कर्मकाण्ड र ज्योतिष विद्याको समेत राम्रो ज्ञान रहेको बैतडीका ज्योतिष पण्डित गणेशप्रसाद पन्तले बताए। उनले दलित समुदायबाट पहिलो पञ्चाङ्गकारको रुपमा कृष्णबहादुरलाई चिनाउन आफूले सहयोग गर्ने बताए। ज्योतिष पण्डित पन्तले दमाईलाई सबै किसिमको सहयोग गर्ने र जातीय विभेद अन्त्य गर्न समेत काम गर्ने बताएका छन्।

नगरपालिकाका कानुनी सल्लाहकार अधिवक्ता वीरबहादुर जेठाराले आचार्य कृष्णबहादुर दमाईलाई उपमहानगरले सम्मान गर्नु गर्वको कुरा भएको बताए। उनले सामाजिक विभेद हटाएर सबैले एकजुट भएर अगाडि बढ्नुपर्ने सन्देश सम्मानले दिएको बताए।
शास्त्र अध्ययनले सम्मान बढ्छः आचार्य दमाई 
शास्त्र अर्थात् विद्या अध्ययनले गुणवान् हुने भएकाले ज्ञान तथा सिप हासिल गर्न सबैले मेहनत गर्नुपर्ने कृष्णबहादुरको तर्क छ। उनले सनातन हिन्दु धर्मको रक्षा गर्दै सबैमा आत्मसम्मान जगाउँदै  एक भएर अगाडि बढ्ने प्रेरणा सबैबाट प्राप्त भएको बताए। पशुपति कोटीहोममा व्यासको आसनबाट पहिलो पटक प्रवचन गरेका दमाईलाई धनगढी उपमहानगरपालिकाले पहिलोपटक सम्मान गरेको हो।

दमाईले उपमहानगरले गरेको सम्मानले थप हौसला मिलेको र सनातन धर्मको रक्षा गर्न काम गर्ने बताए। उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीले स्वधर्ममा रहेर विभेद हटाउँदै अगाडि बढ्नुपर्ने बताए। ‘हामीले शास्त्र अध्ययन गर्नुपर्छ। शिक्षा आर्जन गर्नुपर्छ। सबैले एकजुट भएर सनातन धर्मको रक्षा गर्दै विभेदरहित समाज निर्माण गर्नुपर्छ’, उनले भने, ‘धर्मको रक्षा भए धर्मले हाम्रो र देशको रक्षा गर्छ। त्यसैले हामीले एकजुट भएर सनातन धर्मको रक्षामा लाग्नुपर्छ।’
उपमहानगरले कृष्णबहादुरले चाहेको बेला रोजगारी दिने
धनगढी उपमहानगरपालिकाले आचार्य कृष्णबहादुर दमाईले चाहेको समयमा योग्यताअनुसारको रोजगारी दिने भएको छ। नगर प्रमुख गोपाल हमालले आर्थिक समस्यामा रहेका कृष्णबहादुरले थाक्नु अगावै सबैले सहयोग गर्नुपर्ने बताए। सम्पत्ति, शक्ति र शिक्षाले व्यक्तिको हैसियत निर्माण गर्ने भएकाले संस्कृत शिक्षा प्राप्त गरेर निर्माण भएको हैसियतलाई आचार्य कृष्णबहादुरले समाज रुपान्तरणमा लगाउनुपर्ने र सबैले उनलाई  सहयोग गर्नुपर्ने नगर प्रमुख हमालले बताएका छन्।

‘धनगढी उपमहानगरपालिकाले आचार्य कृष्णबहादुर दमाईलाई योग्यताअनुसारको रोजगारी दिने भनेका छौं। उनले जतिबेला आयो हामी रोजगारी दिन्छौं’, उनले भने, ‘शिक्षा, सम्पत्ति र शक्ति मध्ये कुनै एक कुरा भए व्यक्तिको हैसियत निर्माण हुने भएकाले दलित समुदायलाई शिक्षाको माध्यमबाट सामर्थ्य हासिल गर्न सकिन्छ भन्ने प्रेरणा आचार्य कृष्णबहादुरले दिन सक्नुहुन्छ भन्ने मेरो विश्वास छ।’ कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भएका दमाईले नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य गरेका हुन्। शिल्पी समुदायबाट संस्कृतमा आचार्य पास गर्ने दमाई नेपालकै पहिलो व्यक्ति हुन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस