सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा गत वर्ष २० वर्ष नपुग्दै १४ सय ५२ किशोरीले जन्माए बच्चा

२०८१ भदौ ७, ०७:०३ नारायण अवस्थी

धनगढीः कैलालीमा झण्डै चार प्रतिशत महिलाले २० वर्ष नपुग्दै बच्चा जन्माउने गरेको पाइएको छ।

आर्थिक वर्ष २०७९/८० मा १० दशमलव २७ प्रतिशत र आर्थिक वर्ष २०८०/८१ मा ९ प्रतिशत महिलाले २० वर्ष नपुग्दै बच्चा जन्माएको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकले देखाएको हो। २० वर्ष उमेर नपुग्दै विवाह गर्नु मुलुकी अपराध संहिता ऐन २०७४ विपरीत हो।

२०७२ को संविधानले २० वर्ष नपुग्दै विवाह गर्नु र गराउनु कानुनी अपराध मानेको छ। तर अशिक्षा, आर्थिक अवस्था कमजोर र बालविवाह गर्दा हुन सक्ने समस्याका बारेमा पर्याप्त जानकारी नभएकै कारण ग्रामीण क्षेत्रका बालबालिका उमेरै नपुगी वैवाहिक जीवनमा जोडिन बाध्य छन्। 
यस्तो छ २० वर्ष नपुग्दै आमा बन्नेको तथ्याङ्क
कैलालीमा आर्थिक वर्ष २०७९/८० मा १६ हजार ७४९ महिलाले बच्चा जन्माएका छन्। तीमध्ये एक हजार ७१९ महिला २० वर्ष नपुग्दै आमा बनेका हुन्। यो कुल आमा बन्ने महिलाको १० दशमलव २७ प्रतिशत हो। यस्तै आर्थिक वर्ष २०८०/८१ मा कैलालीमा १६ हजार १४१ महिला सुत्केरी भएका छन्।

जसमध्ये एक हजार ४५२ महिला २० वर्ष नपुग्दै आमा बनेका छन्। जिल्लामा पछिल्लो दुई आर्थिक वर्षको तथ्यांकले उमेर नपुग्दै विवाह र आमा बन्नेको संख्या शून्यमा नझरेको देखिएको स्वास्थ्य कार्यालय कैलालीका तथ्याङ्क अधिकृत गौरी जोशीले बताइन्। उनले उमेर नपुग्दै विवाह गर्दा २० वर्ष नपुग्दै आमा बन्नुपर्ने अवस्था आउने गरेको बताइन्।
यस्तो छ कानुनी व्यवस्था 
मुलुकी अपराध संहिता ऐन, २०७४ मा २० वर्ष नपुग्दै विवाह गरे कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिबाना हुने व्यवस्था छ। प्रजनन स्वास्थ्यका दृष्टिकोणबाट पनि २० वर्ष नपुग्दै विवाह गर्दा प्रजन स्वास्थ्य समस्या देखिने, आमा र बच्चाको स्वास्थ्यमा समस्या देखापर्ने जोखिम हुन्छ। तर पनि सुदूरपश्चिमकै सुगम मानिएको कैलालीमा समेत २० वर्ष नपुग्दै घरजम गर्नेको संख्या उल्लेख्य देखिएको छ।
सामाजिक सञ्जालको दुरुपयोगले बाल विवाह बढ्दो
उमेर नपुग्दै विवाह गर्दा शारीरिक, मानसिक र आर्थिक समस्या आउने जोखिम रहे पनि बाल विवाह रोकिएको छैन। सामाजिक सञ्जालको दुरुपयोगले विद्यालय उमेरमै विवाह गर्ने समस्या देखा परेको छ। जनचेतना र शिक्षाको अभावसँगै सामाजिक सञ्जालका कारण बाल विवाहका घटना बढेको बुझाइ स्वास्थ्य कार्यालय कैलालीका तथ्याङ्क अधिकृत जोशीको छ।

उनले विद्यालय उमेरका केटाकेटी सामाजिक सञ्जालका माध्यमबाट नजिकिँदै उमेर नपुग्दै विवाह गर्ने अवस्थासम्म पुग्ने गरेको बताइन्। विद्यमान कानुनले २० वर्ष नपुगी विवाह गर्नु कसुर ठहरिने भए पनि कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा बाल विवाह रोक्न सकिएको छैन। ‘बिहेवारी २० वर्ष पारि’ भन्ने नाराले अझै सार्थकता पाएको छैन।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस