सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा वर्षाका कारण २२ जनाको मृत्यु

२०८१ भदौ ७, ०५:५४ खबर संवाददाता

एजेन्सीः भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा विगत चार दिनदेखि परेको भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण २२ जनाको मृत्यु भएको छ।

साथै अन्य दुई जना बेपत्ता भएको अधिकारीहरूले शुक्रवार बताएका छन्।  स्थानीय राजस्व विभागका अनुसार बाढीका कारण त्रिपुरा राज्यमा करिब १७ लाख मानिस प्रभावित भएका छन् भने बाढीले आवास, पूर्वाधार, सडक तथा कृषिमा गम्भिर क्षति पुर्‍याएको छ।

बाढी प्रभावित राज्यमा ४५० राहत शिविरहरू स्थापना गरी ६५ हजारभन्दा बढी मानिसहरूलाई शरण दिइएको अधिकारीले बताएका छन्। राज्यका नदीहरूको पानीको स्तर उच्च रहेको छ। बाढीले गोमती, दक्षिण त्रिपुरा, उनाकोटी र पश्चिम त्रिपुरा जिल्लालाई गम्भीर रूपमा असर गरेको स्थानीय अधिकारीले जनाएका छन्।

प्रारम्भिक रिपोर्टअनुसार बाढीका कारण भौतिक पूर्वाधार र कृषि बालीलगायतका क्षेत्रमा व्यापक क्षति भएको वरिष्ठ स्थानीय अधिकारी बृजेश पाण्डेले बताए। अल इन्डिया रेडियोका अनुसार त्रिपुरामा चार दिनसम्म परेको लगातारको वर्षाले कृषि र ऊर्जा क्षेत्रमा गम्भिर क्षति पुर्‍याएको छ।

कमेन्ट लोड गर्नुस