वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कैलालीका एक युवक काठमाण्डौंमा पक्राउ
धनगढीः वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कैलालीका एक युवक काठमाण्डौंमा पक्राउ परेका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–९ मसुरिया घर भएका ३० वर्षीय इश्वरप्रसाद ढकाल विहिबार काठमाण्डौंमा पक्राउ परेका हुन्। उनी काठमाण्डौंस्थित बुढानिगलकण्ड नगरपालिका–५ मण्डिखाटारमा बस्दै आएका थिए। पक्राउ परेका इश्वरीप्रसादले एक जना पीडितबाट ५० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएको उजूरी प्रहरीमा परेको थियो।
पीडितले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इश्वरप्रसादलाई काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। उनीसँगै प्युठान गौमुखी गाउँपालिका–७ घर भएका ४६ वर्षीय लालबहादुर जिसी पनि पक्राउ परेको प्रहरीले जनाएको छ।