सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चार सय १७ हेक्टर बढी क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार

२०८१ भदौ ७, १२:४३ खबर संवाददाता

कैलाली: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलालीमा चार सय १७ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा साना सिँचाइ कार्यक्रम अन्तर्गत गहुँ सुपर जोन र धान जोनमा ५० प्रतिशत अनुदानमा एक सय ६७ वटा स्यालो ट्युबेल जडान गरेपछि एक सय १७ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको हो।

उक्त कार्यालयका अनुसार आव २०७९/८० मा साना सिँचाइअन्तर्गत गहुँ सुपर जोन र धान जोनमा ५० प्रतिशत अनुदानमा एक सय नौ वटा स्यालो ट्युबेल जडान गरिएकामा दुई सय ७२ हेक्टर जमिनमा सिँचाइ सुविधा  विस्तार भएको थियो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालयका सूचना अधिकारी ऋतु धामीले  जोन र सुपर जोन कार्यक्रम लागू भएका क्षेत्रमा साना सिँचाइ अन्तर्गत जडान गरिएका स्यालो ट्युबेलले परियोजनामा आबद्ध किसानलाई विभिन्न बालीका खेती गरिने क्षेत्रफल विस्तारसँगै उत्पादकत्वमा वृद्धि हुने बताए। 

उक्त कार्यालयले ‘गहुँ सुपर जोन’ कैलारी गाउँपालिका, गौरीगङ्गा र घोडाघोडी नगरपालिकाका विभिन्न १८ वडामा, ‘तेलहन जोन’ जानकी, जोशीपुर गाउँपालिका, भजनी, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका विभिन्न २९ वडा र ‘धान जोन’ जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न नौ वटा वडामा सञ्चालनमा रहेको जनाएको छ।

आव २०८०/८१ मा ‘गहुँ सुपर जोन’ मा रु. ६३ लाख ७५ हजार र ‘धान जोन’ कार्यक्रममा रु ३१ लख ८८ हजार गरी जम्मा रु. ९५ लाख ६३ हजार बजेट विनियोजन गरिएको सूचना अधिकारी धामीले  जानकारी दिए। जिल्लामा परियोजनाद्वारा सञ्चालित ‘गहुँ सुपर जोन’, ‘तेलहन जोन’ र ‘धान जोन’ कार्यक्रममा तीनवटै जोनमा चार हजार नौ सय १७ महिला र चार हजार १८ पुरुष गरी आठ हजार नौ सय ३२ जना आबद्ध छन्। 

उनका अनुसार गत आवमा सहकारी, कृषि समूह, कृषि उद्यमी, बीउ उत्पादन कम्पनी र समिति गरी तीन सय ३५ संस्था सूचीकृत भएका थिए। गहुँ सुपर जोन एक हजार पाँच सय हेक्टरबाट क्षेत्रफल विस्तार भएर हाल तीन हजार हेक्टर, तेलहन जोन पाँच सय हेक्टरबाट एक हजार पाँच सय हेक्टर र वर्षे धान जोन पाँच सय हेक्टरबाट क्षेत्रफल विस्तार भएर आठ सय हेक्टर पुगेको जनाइएको छ। 

कार्यक्रम सञ्चालन भएपछि गहुँको उत्पादकत्व दुई दशमलव नौ मेट्रिक टन प्रतिहेक्टरबाट वृद्धि भएर हाल चार दशमलव, धानको उत्पादकत्व तीन दशमलव ४७ बाट वृद्धि भएर पाँच दशमलव २७ मेट्रिक टन प्रतिहेक्टर र तोरीको उत्पादकत्व  शून्य दशमलव नौ मेट्रिक टन प्रतिहेक्टरबाट वृद्धि भएर एक दशमलव पाँच पुगेको छ। 

कृषि उत्पादन वृद्धि गरी आयात घटाउँदै जाने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७३/७४ बाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गरेको हो। जोन र सुपर जोन कार्यक्रम कार्यान्वयनसँगै विभिन्न बालीको उत्पादकत्व वृद्धि भए पनि पर्याप्त बजेट अभावका कारण  खेती गरिने क्षेत्रफल विस्तार हुन नसकेको सूचना अधिकारी दामीले बताए।

कमेन्ट लोड गर्नुस