सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका तीन पालिका, जहाँ राष्ट्रिय प्रसारण लाइनको बिजुली छैन

२०८१ भदौ ७, १२:०५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका ३ पालिकामा अझै राष्ट्रिय प्रसारणको विद्युत् पुग्न बाँकी रहेको विद्युतीकरण तथ्यांक २०८१ ले देखाएको छ।

नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशका कुल ८८ पालिकामध्ये बझाङ, बाजुरा र बैतडीका तीन पालिकामा अझै राष्ट्रिय प्रशारण लाइनको बिजुली पुगेको छैन्। बझाङको साइपाल गाउँपालिका, बाजुराको गौमुल गाउँपालिका र बैतडीको शिवनाथ गाउँपालिकामा राष्ट्रिय प्रशारण लाइनको बिजुली पुगेको छैन्।

ती पालिकामा स्थानीयले लघु जलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत् उपभोग गर्दै आएका छन्। चालू आर्थिक वर्षभित्र सबैको घरमा विद्युत् सेवा पुगाउने सरकारको घोषणा कार्यान्वयन गर्नेगरी काम भइरहेको प्राधिकरणले जनाएको छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा सबैको घरधुरीमा एक वर्षभित्रमा विद्युत् पुगाउने गरी काम भइरहेको प्राधिकरणको दाबी छ।

पहाडी जिल्लामा विद्युतीकरणका लागि निर्माण व्यवसायी छनोट गरी काम सुरु गरिएको छ। सुदूरपश्चिममा ८६ दशमलव ५८ प्रतिशत विद्युतीकरण गरिएको छ। प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक मनोज सिलवालले आंशिक विद्युतीकरण भएका र विद्युतीकरण हुन बाँकी स्थानीय तहमा विद्युत् पुगाउने काम भइरहेको बताएका छन्।

सुदूरपश्चिमका ९ जिल्लामध्ये कञ्चनपुर र कैलालीमा भने सतप्रतिशत विद्युतीकरण भइसकेको छ। बाजुरामा सबैभन्दा कम ३३ दशमलव ५१ प्रतिशत मात्र विद्युतीकरण भएको छ। डडेल्धुरामा ९४ दशमलव शून्य ८, डोटीमा ८८ दशमलव शून्य ४, अछाममा ६५ दशमलव ९७, बैतडीमा ६१ दशमलव ७३, बझाङमा ६९ दशमलव शून्य ३ र दार्चुलामा ८४ दशमलव शून्य १ प्रतिशत विद्युतीकरण भएको प्राधिकरणको तथ्यांक छ।

कमेन्ट लोड गर्नुस