सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा करिब १५ परिवार इसाईका लागि तीन वटा चर्च

२०८१ भदौ ६, ०५:३३ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरा, राना गाउँमा करिब १५ परिवार इसाईका लागि तीन वटा चर्च खोलिएको छ। सरस्वती माध्यमिक विद्यालयको दक्षिणमा अवस्थित मनेहरा गाउँमा दुई वटा चर्च यसअघि नै खोलेकोमा तेस्रो चर्च निर्माणको काम अन्तिम चरणमा पुगेको हो।

चर्चमा रङरोगन र फर्निसिङको काम मात्रै बाँकी छ। राना समुदायको करिब दुई सय पचास परिवारको बसोबास रहेको मनेहरा गाउँमा भुसको आगो झै इसाईकरणको आगो सल्किएको स्थानीयले टिप्पणी गरेका छन्। गाउँमा चर्च पसेपछि एउटै परिवारका केही सदस्य इसाई बन्ने र केही स्वधर्ममै रहने प्रवृत्ति देखा परेको उनीहरूले बताएका हुन्। इसाईकरण बढेसँगै रानाथारू परिवार र समाजमा विखण्डन आएको छ भने धर्म, संस्कृति र परम्परासमेत संकटमा पर्ने चिन्ता स्थानीय बुढापाकाले गरेका छन्।

एकै गाउँमा तीन चर्च

मनेहरा गाउँमा करिब २५० परिवारको बसोबास छ। रानाथारुको यो निकै पुरानो बस्तीमा केही चौधरी समुदायको समेत बसोबास छ। करिब पाँच वर्ष अगाडि गाउँमा कुनै चर्च थिएनन्। तर, अहिले तेस्रो चर्च निर्माणको काम धमाधम भइरहेको छ। गाउँमा करिब १५ परिवार मात्रै इसाई रिलिजन मान्छन्। ती परिवारका करिब एक सय जनाका लागि तेस्रो चर्चको आवश्यकता परेको हो।

गाउँमा चर्च विस्तार गर्न धनगढी–२ सन्तोषी टोलमा रहेक कलबरी चर्चले सहयोग गरेको छ। नयाँ बन्न लागेको चर्चका लागि जग्गा उपलब्ध गराउने मथुरा रानाले कल्बरी चर्चको शाखा खुल्न लागेको बताए। उनले गोदामका लागि बनाउन लागेको घर चर्चलाई दिने सल्लाह भएको बताए।

विश्वासीबाट उठाइयो २६ लाख

जग्गा धनी मथुरा रानाले आफू नयाँ बन्न लागेको चर्च निर्माण गर्न २६ लाख खर्च भएको बताएका छन्। उनले २० वर्षका लागि भवन चर्चलाई दिने सहमति भएको र त्यसपछि घर आफूले व्यक्तिगत कामका लागि प्रयोग गर्ने सोच बनाएको बताए। घर भाडा बापत चर्चबाट कति रुपैयाँ लिने भन्ने कुरा रानाले बताउन चाहेनन्। जग्गा धनी रानाले मुक्त कमैया शिविरमा रहेको चर्च नयाँ भवनमा स्थानान्तरण गर्ने बताए।

तर, अर्का एक जना विश्वासीले शिविरमा पनि चर्च चलाइ राख्ने र यता धनगढीगाउँ र जुगेडाबाट प्रार्थना गर्न विश्वासीहरूलाई आउन सहज हुने भएकाले नयाँ ठाउँमा ठूलो भवन बनाएर चर्च चलाउन लागेको बताए।

बिरामी र विपन्नलाई यसरी बनाइन्छ इसाई

कैलालीको बौनियाका कन्हैयालाल चौधरी अहिले धनगढी–७ मनेहरा गाउँमा बस्छन्। गाडी चलाउने कन्हैयालाल अहिले पक्षाघातबाट पीडित छन्। आफ्नो जन्मसमेत कृष्ण जन्माष्टमीको दिन भएको बताउने कन्हैयालाल अहिले इसाई बनेका छन्। अहिलेसम्म बक्तिस्मा नलिएको बताउने उनी प्रार्थना गरेर पक्षाघात निको हुने विश्वासमा विश्वासी अर्थात् इसाई बनेका हुन्। छोरी र आफू इसाई बनेको भए पनि कन्हैयालालले श्रीमती र छोरा भने अहिलेसम्म स्वधर्ममै रहेको बताएका छन्। आफ्नो पक्षाघात निको भए श्रीमती र छोरालेसमेत इसाई धर्म अँगाल्ने विश्वास कन्हैयालालको छ। कन्हैयालाल एक प्रतिनिधि उदाहरण हुन्।

उनीजस्तै बिरामी र आर्थिक समस्या भएकाहरू धर्मान्तरणको चपेटामा परेको मनेहराका एक स्थानीय बताउँछन्। ‘मनेहरा गाउँमा करिब पाँच वर्ष अगाडि एक पनि चर्च थिएन। तर, अहिले एउटै गाउँमा तेस्रो चर्च निर्माण भइरहेको छ,’ आफ्नो नाम सार्वजनिक गर्न नचाहने ती स्थानीयले भने।

धनगढीको कलबरी चर्च प्रभुको साम्राज्य विस्तार गर्दै

मथुरा रानाले धनगढी–२ सन्तोषी टोलको कलबरी चर्चको शाखा आफूले निर्माण गरेको भवनमा सञ्चालन हुने बताएका छन्। सो चर्चको पास्टर दाङ घर भएका तर, अहिले सन्तोषी टोलमै बस्ने तिलक महरा रहेको रानाले बताए। कल्बरी चर्चबाट उत्पादित पास्टरहरूलाई जिल्लाको विभिन्न स्थानमा चर्च खडा गर्न पठाइन्छ। तिलक महराले अहिले मनेहराको शिविरमा रहेको चर्चको नेतृत्व गर्छन्। नयाँ भवन बनेपछि उनी नयाँ चर्चको प्रमुख पास्टर बन्नेछन्।

कैलालीकै पुरानो मण्डली कलबरी चर्चले धनगढीका भित्री गाउँहरूमा इसाईकरणलाई तीव्र पारेको छ। उनीहरूकै शब्दमा भन्दा प्रमुख साम्राज्य विस्तारमा कलबरी चर्च लागेको छ।  

इसाईकरणले जनजातिको पहिचान सङ्कटमा

कुनै न कुनै बिरामी भएका आर्थिक अवस्था कमजोर भएका व्यक्ति र परिवारलाई लक्षित गरेर पास्टर र आफूलाई विश्वासी बताउनेहरूले धर्मान्तरणको गतिविधि गर्ने गरेको स्थानीयले बताएका छन्। इसाईहरूले बिरामी भएर उपचार गर्नुपर्ने व्यक्तिलाई प्रार्थना गरेर ठिक पार्ने भन्दै चर्चमा बोलाउने र इसाई बन्न प्रेरित गर्छन्।

रोग निको हुने र समस्याबाट छुट्कारासँगै मृत्युपछि स्वर्ग सहजै जाने प्रलोभन देखाएर इसाइकरण भुसको आगो झै सल्किइरहेको मनेहरा गाउँका स्थानीयले बताए। इसाई बनेको व्यक्तिले कुलदेवता नमान्ने, देउथान उखेलेर फाल्ने, थारु जातिको मौलिक पर्व र चाड नमान्ने मात्रै होइन आफन्त मर्दासमेत अन्त्येष्टिमा सामेल हुन छोडेको भलमान्सा रामकुमार रानाले बताए। उनले इसाईकरणले गर्दा थारू जातिको पहिचान नै सङ्कटमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

धर्मनिरपेक्षताको आडमा बढ्दै इसाईकरण

दस वर्ष अगाडिसम्म इसाई एक जना पनि नभएको गाउँमा अहिले एक दर्जनसम्म चर्च निर्माण भएको आफूलाई विश्वासी बताउने कन्हैयालाल चौधरीको दाबी छ। उनले धनगढी गाउँ, जुगेडा देवहरिया, फूलबारी र कैलालीका थारू बहुल क्षेत्रमा विश्वासी र चर्चको संख्या बढिरहेको बताए। चौधरीका अनुसार मनेहरा गाउँमा इसाईको अहिले १५/२० परिवार मात्रै भए पनि निकट भविष्यमा यो सङ्ख्या बढ्ने बताए। उनले इसाईको सङ्ख्या बढ्ने र अन्य धर्मावलम्बीको सङ्ख्या घट्ने ठोकुवा गरे। उनले संविधानमै धर्मनिरपेक्षता लेखिएकाले सबै धर्म जस्तै इसाई धर्मको पनि प्रचारप्रसार गर्न पाइने तर्क गरे।

 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस