सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सार्वजनिक शौचालय सञ्चालन गर्न ठेक्का

२०८१ भदौ ६, ०२:०५ कमल सावद

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले शौचालय सञ्चालन गर्न ठेक्कामा दिएको छ। धनगढी उपमहानगरपालिकाको परिसरमा निर्माण गरिएको आधुनिक शौचालय सञ्चालनका लागि ठेक्कामा दिइएको हो।

पाँच वर्षका लागि शौचालय सञ्चालन गर्न बालाजी कन्स्टक्सनलाई ठेक्कामा पाएको छ। बालाजी कन्स्टक्सनले वार्षिक २ लाख १० हजार रुपैयाँ उपमहानगरपालिकालाई शौचालय सञ्चालनको भाडा दिने छ। उपमहानगरपालिकाको शौचालयसँगै चमेनागृह, पूर्वी क्षेत्रको पार्किङ शुल्क, विद्युतीय सवारीको चार्ज स्टेसनसहित सञ्चालनका लागि ठेक्कामा दिइएको हो। धनगढी उपमहानगरपालिकाका डिभिजन इन्जिनियर दिजराज भट्टले आधुनिक शौचालय सञ्चालनका लागि सम्झौता भएको बताए।

धनगढी उपमहानगरपालिकाले ३९ लाख चार हजार आठ सय ४४ रुपैयाँको लागतमा आधुनिक सार्वजनिक शौचालय निर्माण गरेको थियो। धनगढी उपमहानगरपालिका परिसरमा रहेको पुरानो शौचालयको स्थानमा नयाँ आधुनिक शौचालय निर्माण गर्न बी एण्ड बी बिल्ड्रससँग सम्झौता गरिएको थियो। उपमहानगरपालिकाले शौचालय निर्माण गरेर सञ्चालनका लागि ठेक्कामा दिएको हो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस