धनगढीको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण गर्न ८ करोड ६२ लाखमा ठेक्का
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकासँगै जोडिएको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण गर्न ठेक्का सम्झौता गरिएको छ। सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीले ८ करोड ६२ लाख ५० हजार सात सय नौ रुपैयाँमा उद्यान निर्माणका लागि ठेक्का सम्झौता गरेको हो।
नेशनल/पवन जेभीसँग २०८१ असार १७ गते वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणका लागि सम्झौता गरिएको हो। धनगढी पार्कका नाउले परिचित वीरेन्द्र–ऐश्वर्य उद्यानलाई आधुनिक तरिकाले निर्माण गर्न सम्झौता गरिएको सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी सौरभ कलौनीले बताए। वीरेन्द्र–ऐश्वर्य उद्यानसँगै धनगढीमा एक हजार दुई सय ५० मिटर सडक समेत निर्माण गर्न सम्झौता भएको हो। निर्माण कम्पनीले २०८३ बैशाख १६ गतेसम्म वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणको काम पूरा गर्ने छ।
धनगढीको मुख्य बजारमा रहेको उद्यान निर्माण गर्न धनगढी उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारेको थियो। उपमहानगरपालिकाले रात्रिकालीन बजारसहितको उद्यान निर्माणका लागि डिपीआर तयार पारेको हो। तर, हाल पार्क क्षेत्रमा बालबालिकाका लागि क्षेत्र र खेलौना, वाटर फाउन्टेन, रेस्टुरेन्ट, कार्यक्रम सञ्चालन गर्न हल, स्वीमीङ्ग पुल, जेष्ठ नागरिकले आराम गर्ने स्थान, युवाहरूका लागि सांस्कृतिक क्षेत्र, किशोर–किशोरीका प्रतिभाका लागि कार्यक्रम स्थल र उद्यानको बाहिरी क्षेत्रमा सटरहरू हुने छन्। सटरहरूमा स्थानीय संस्कृतिका पोसाक तथा सामानहरू बिक्री गर्न सकिने छ। धनगढी उपमहानगरपालिकाको ३५ करोडको योजना भएपछि पहिलो चरणमा सहरी विकासले ८ करोड ६२ लाखका संरचनाहरू निर्माण गर्ने भएको हो।
धनगढी उपमहानगरपालिका– १ मा रहेको उद्यान (पार्क)लाई स्तरीय तथा आधुनिक निर्माण गर्ने काम थालिएको छ। नेशनल/पवन जेभीले निर्माण सामाग्रीको ढुवानी थालेको हो।
उद्यानमा पाँच सय युवाले सुरुवात व्यवसाय (स्र्टाट अफ बिजिनेस) गरेर आय आर्जन गर्न सक्ने बनाउने धनगढी उपमहानगरपालिकाको योजना छ। डिभिजनल इन्जिनियर दिजराज भट्टले सहरी विकासले पहिलो चरणमा उद्यानमा संरचना निर्माणका लागि ठेक्का गरेको बताए। उनले भने, ‘सम्झौता भएको छ। निर्माण सामाग्रीसमेत आएका छन्। असोजबाट काम हुन्छ। ३५ करोडको लागत अनुमान छ। केही काम सहरी विकासले गर्दैछ। बाँकी काम उपमहानगरपालिकाले गर्ने छ। केही प्रदेश सरकारबाट सहयोग माग गरेका छौ। अन्य काम नगर विकास कोषबाट ऋण सहयोगको प्रस्ताव गरेका छौ। अन्तिम चरणमा पुगेको छ। यो पार्क २ वर्षमा निर्माणको काम पूरा गर्ने छौ।’
वीरेन्द्र–ऐश्वर्य उद्यानको बाहिरी क्षेत्रमासमेत ठुला कार्यक्रम सञ्चालनका लागि स्थल तयार गरिने छ। पार्कको दक्षिण क्षेत्रमा सुन्दर स्टेज निर्माण गरिने छ। साँझको समयमा कार्यक्रम सञ्चालन गर्न मिलने वातावरण उपमहानगरपालिकाले तयार गर्न लागेको हो। उद्यानमा सुदूरपश्चिमका सामाजिक तथा धार्मिक धरोहर, पर्यटकीय स्थल, खानाका परिकार, भेषभूषा, संस्कृति चिनाउने भिडियो र तस्बिरहरू प्रत्येक साँझ प्रस्तुति गरिने योजना तयार पारिएको छ।
भिडिओ र तस्बिरहरूको सुदूरपश्चिमका सम्पूर्ण धार्मिक, सामाजिक धरोहर, पर्यटकीय स्थल, खानाका परिकार, भेषभूषा, संस्कृतिहरू चिनाउन महत्त्वपूर्ण भूमिका रहने दाबी उपमहानगरपालिकाको छ।