सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बाढीले जनजीवन कष्टकर

२०८१ भदौ ६, १०:१५ कमल सावद

धनगढीः कैलालीमा बाढीले जनजीवन कष्टकर हुँदै गएको छ। जिल्लाका नदीहरूमा पानीको बहाउ कम नभएपछि डुबान प्रभावित क्षेत्रको जनजीवन थप कष्टकर बन्दै गएको हो।

जिल्लामा बुधवार रातिदेखि आएको बाढी घट्न नपाउँदै गए राति थप वर्षा भएपछि डुबान यथावत् रहेको छ। कैलारी गाउँपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र गौरीगङ्गा नगरपालिकामा डुबान भएको थियो। राति तीन घण्टासम्म कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएपछि जनजीवन थप कष्टकर बनेको हो। डुबान प्रभावित क्षेत्रका स्थानीयका रातभरि बिचल्ली भएको छ। जल तथा मौसम विज्ञान विभागले कैलालीका कुलरिया, कान्द्रा, घुराहा, मोहना लगाएतका नदीमा पानीको बहाउ उच्च रहेको बताएको छ। जिल्लाको होचो भू–भागमा अझै डुबानको जोखिम रहेको विभागले बताएको छ।

बाढीका कारण प्रभावित कैलारी गाउँपालिका–५ को मनिकापुरका स्थानीय डुबान भएको घरमा रातभरि जाग्राम बसेका छन्। जिल्लाको भजनी नगरपालिकाका डुबान प्रभावित स्थानीयको जनजीवन पनि कष्टकर बन्दै गएको छ।

कैलालीको धेरै भू–भागमा पछिल्लो तीन घण्टा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। नदी आसपास बसोबास गर्ने र तल्लो तटीय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस