रास्वपाले असोजमा पहिलो राष्ट्रिय भेला गर्ने
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।
आज बुधवार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले बन्द कार्यशालाबाट सिफारिस भएअनुसार पार्टीको पहिलो राष्ट्रिय भेला आगामी असोज १ र २ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको हो।
त्यस्तै बैठकले केन्द्रीय समितिले विधानको धारा ९५(३) अनुसार धारा २३ ले परिकल्पना गरेको केन्द्रीय परिषद् गठन गर्ने र राष्ट्रिय भेलामा परिषद्का साथै पालिका र निर्वाचन क्षेत्र समितिका प्रतिनिधि एवम् प्रदेश समिति, प्रदेश विभाग, गत संसदीय निर्वाचनका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरू सहभागी हुने गरी प्रतिनिधि तोक्ने निर्णय पनि गरेको छ।
रास्वपाले कर्णाली विशेष अभियानअन्तर्गत भदौ १५ गते कर्णालीमा प्रदेश भेला आयोजना गरी संगठन निर्माण र विस्तारलाई निरन्तरता दिने निर्णय पनि आजको बैठकले गरेको छ। बैठकले भदौ महिनाभित्र सातै प्रदेशमा संक्षिप्त प्रशिक्षण स्वरुप पार्टी सभापतिको उपस्थितिमा विस्तारित छलफलहरू आयोजना गर्ने निर्णय पनि गरेको छ।